बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि अक्सिजनको चरम अभाव भएको छ । अस्पतालमा समयमा अक्सिजन सिलिण्डर आपूर्ती हुन नसक्दा संक्रमितको उपचार निकै कठिन बन्दै गइरहेको अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले जानकारी दिए । उनले भने-'अब हामीसँग एक घण्टाका लागि मात्रै पुग्ने अक्सिजन छ । त्यसपछि के गर्छौं थाहा छैन । राती आउने भनिएका अक्सिजन नै आएका छैनन् ।'
अस्पतालमा अहिले दैनिक ५ देखि ६ सय वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भएपनि आपूर्ती भने २ देखि साढे दुई सय वटा मात्रै भइरहेको अस्पतालका मेसु राजेन्द्र खनालले जानकारी दिए । उनले रातभर अक्सिजनका लागि भौंतारिंदा समेत अक्सिजन फेला पार्न नसकेको बताए । उनले भने-'राती आउने भनेको ६० वटा सिलिण्डर अक्सिजन आएनन् । डा नन्दु र म मध्यरातमा अक्सिजनका लागि भौंतारिंयौं तर पाइएन ।'
अक्सिजन अभाव भएपछि संक्रमितको उपचारमा निकै समस्या दखिएको भन्दै बिरामीहरुले पिडा आफूहरुले टुलुटुलु हेर्ने काम मात्रै भएको बताए । उनले भने–'नर्स र डाक्टरहरुले केही गर्न नसकिने यो कस्तो विवशता ।... हामीलाई त सयौंका पिडाको साक्षी हुँदाको पीडा कस्तो होला।'
नेपालगञ्जको एच ओ अक्सिजनले अस्पतालमा अक्सिजनको आपूर्ती गरिरहेको भएपनि मागअनुसारको आपूर्ती गर्न नसक्दा अस्पताल समस्यामा परेको हो । अस्पतालले निरन्तर अक्सिजन आपूर्ती गर्न सक्ने सप्लायर्सको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।
अस्पतालमा अहिले १५ वटा आइसीयू बेड, ३६ वटा एचडियु बेड, फिबर क्लिनिकका ९ वटा र इमेरजेन्सिका बेडहरु संक्रमितले भरिएका छन् । केहीको उपचार भुँइमा नै राखेर पनि भइरहेको अस्पतालले जनाएको छ ।