बुटवल - कोभिड १९ को प्रभाव यसको नियन्त्रण र रोकथामको सन्दर्भमा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी सहित सरोकारवालाहरुबीच छलफल भएको छ ।
प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा मन्त्रालयका अधिकारी, प्रदेश सांसदहरु, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा अर्थमन्त्री पौडेलसँग मंगलबार भर्चुअल माध्यममा बैठक सम्पन्न भएको हो ।
बैठकमा कोरोना संक्रमणको नियन्त्रण कसरी गर्न सकिन्छ ? प्रदेशका हरेक जिल्लाका कोभिड –१९ नियन्त्रण सम्बन्धि मुलभुत समस्याहरु के के हुन ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ? भन्ने सन्दर्भमा छलफल भएको थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अर्थमन्त्री समक्ष प्रदेशको समग्र कोभिड १९ सम्बन्धि हालको अवस्था, अक्सिजनको अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको बताउँदै छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, लिक्विट ट्याङ्कको व्यवस्थापन , एन्टिजिन टेष्टको दायरा फराकिलो किटको व्यवस्थापन लगायतका लागि प्रादेशिक कोभिड कोषलाई ६० करोडको बनाउन आर्थिक लगायत अन्य स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे।
अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चिनबाट ल्याउने प्रक्रिया अगाडि बढेको, भेन्टिलेटर, औषधि लगायतका आवश्यक स्वास्थ सामाग्री व्यवस्थापन गर्न सरकार लागिपरेको भन्दै आर्थिक व्यवस्थापनमा कुनै कमि नरहने बताए।
१२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तत्काल बिरामीहरुलाई अक्सिजन अभाव भएको, पिसीआर परिक्षणको दायरा बढाउन एवं एन्टिजिन किटको प्रयाप्त व्यवस्था गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका थिए। सुरक्षा संयन्त्रले कम स्रोत साधनका बाबजुद पनि गतिविधिलाई तिब्रता दिइराखेकाले स्रोत ब्यवस्थापनका लागि आग्रह गरेका थिए भने प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र कोभिडको अवस्था र चालिएका कदमबारे रिपोर्टिङ गरेका थिए।
स्वास्थ्य विज्ञको तर्फबाट डा . मानबहादुर के सिले हाम्रो जस्तो मुलुकमा कोभिड नियन्त्रणको प्रमुख उपाय भनेको भौतिक दुरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिनु नै उचित हुने बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले अगाडि सारेका योजना सहित देवदह मेडिकल कलेजमा कोभिड बेड बिस्तार गरिएको, ५८३ जना अस्थायी दरबन्दी स्वीकृत भैसकेको र आवश्यक परे थप गर्न सकिने लगायत मन्त्रालयले कोभिड नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी दिएका थिए ।