भैरहवा - रुपन्देहीको कोभिड अस्पताल समेत रहेको युनिभर्सल मेडिकल कलेजमा कोभिडका १ सय सहित २ सय २० विरामी छन । अधिकांस विरामीलाई अक्सिजनको आवश्यकता छ, त्यो पनि हाईफ्लो तर मंगलबार मध्यरातमा अस्पतालमा अक्सिजन सकिन लागेपछि सबै विरामीको ज्यान जोखिममा थियो ।
अक्सिजन विना नै ज्यान नजाओस भन्दै मध्यरातमा अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङ, प्रशासन प्रमुख तेज केसी, डाइरेक्टर अजय पि.एस., प्रमुख प्रशासकिय अधिकृत कमल ढकाल सहितको टिम जिल्ला प्रशासन कार्यालय आएर अक्सिजनको लागि गुहार मागिरहे । मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेट पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारीसँग अक्सिजनको व्यवस्थापन गरीदिन भनेर आएकोमा, कुनै प्रतिक्रिया नरहेपछि मध्यरातमा नै बैकल्पीक व्यवस्था गरी विरामीहरुको ज्यान बचाएको बताए ।
मेडिकल कलेजका विरामी छटपटाउँदै, यताउता गर्दै थिए । ‘अस्पतालमा दुई सय २० जना बिरामी छन्, अब उनीहरूलाई दुई घन्टालाई मात्र पुग्ने अक्सिजन छ । चितवन प्रशासनले अक्सिजनको गाडी रोकिदिएको छ, पहल गरेर खुलाइदिन आग्रह गर्न सिडियो अफिस आएको तीन घन्टा भयो, गेट खुलेको छैन ।' उनीहरूले भने ।
सरकारले पर्याप्त मात्र अक्सिजन उपलब्ध गराउन नसकेको भन्दै सो अस्पतालले आइतबार नै विज्ञप्ति निकालेर नयाँ बिरामी भर्ना बन्द गरेको थियो । तर, अस्पतालमा भएका बिरामीको जीवन नै जोखिममा परेपछि राति नै भए पनि सिडिओसँग गुहार माग्न उनीहरु सिडियो अफिस गएका थिए ।
जिल्ला प्रशासन कार्यालयले अस्पतालको लागि निश्चित कोटा तोकिदिए पछि, अस्पतालमा उपचाररत २ सय २० विरामीका लागि उक्त कोटाको अक्सिजन अपुग छ, कोटाको अक्सिजनको पनि आपूर्ति छैन । उपचाररत विरामीलाई कुनै पनि बेला अक्सिजन कम हुन्छ भनेर मेडिकल कलेज प्रशासनले दिउसै चितवनबाट अक्सिजिन ल्याउने भन्दै गाडी पठाएको थियो । तर, चितवनका सिडियोले पनि जिल्ला बाहिर अक्सिजिन सप्लाई बन्द गरेकोले राती त्यो आउन नसकेर यस्तो अवस्था आएको र जिल्ला प्रशासन कार्यालयमा मध्यरातमा गुहार माग्न आउनु परेको अस्पतालका जनसम्पर्क अधिकृत गुरुङल भने ।
'प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हामीले पठाएको गाडी चितवन प्रशासनले रोकेपछि सो कार्यमा सहजीकरण गर्ने आशका साथ आएका थियौ । हामी दुई–तीन घन्टासम्म प्रशासन कार्यालयको गेटमा बस्यौँ,’ गुरुङले भने ‘सिडिओ साबको फोन उठ्दै–उठेन, अंगरक्षकमार्फत खबर पनि पठायौँ, तर केही रेस्पोन्स आएन ।’
मेडिकलको टिम गेट अगाडि हुदा नै चितवनबाट गाडी हिँडेको खबर आए पछि मनमा केही शान्ति आयो तर त्यो आउन पनि ३ देखि ४ घण्टा लाग्ने अवस्था थियो । अस्पतालमा राति १ बजेसम्मका लागि मात्र अक्सिजन थियो, आउन लागेको अक्सिजन ३ बजे आउछ । अक्सिजन खोज्दै हिडेको मेडिकल टिमलाई तनाव भयो, सिडिओ कार्यालय हुदै उनीहरुले अर्को टोलीलाई शंकर ग्यास उद्योगमा पठाए । 'चितवनको गाडी आउन्जेल बिरामी बचाउन शंकर ग्यास उद्योगसँग हारगुहार गरेर ४० सिलिन्डर भर्न खोज्यौ ।' अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले भने ।
उद्योग परिसरबाट मध्यरातमा अक्सिजन लैजान सकियो र समयमै चितवनको अक्सिजन आइपुग्यो भने आजको संकट टर्नेछ । उनीहरुको रात अक्सिजन व्यवस्थापन मै गयो तर यही अवस्था रहे कति दिन सम्म यस्तो काम गर्ने, प्रविधिक कुरामा केही गडबढी भएमा छिन भरमै कतिको ज्यान जान सक्छ, यस्मा सरोकारवाल निकाय र सरकार गम्भीर हुनु पर्छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापा, सहायक प्रजिअ विजय पौडेल र प्रजिअ आस्मान तामाङसँग सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन्।