भैरहवा- रुपन्देहीमा बुधबार अहिले सम्मकै सबै भन्दा बढि संक्रमित पुष्टि भएको छ भने संक्रमित भई मृत्यु हुनेको संख्या पनि सबै भन्दा बढि छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार ९ सय ७ जनामा संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ। यो पछिल्लो २४ घण्टाको तथ्याङक हो । नयाँ वर्षको सुरुवातसँगै रुपन्देहीमा संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढ्दो अवस्थामै छ । आइतबार देखि संक्रमितको ग्राफ केही तल गएपनि बुधबार एक्कासी ग्राफ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ। संक्रमित मात्र होइन मृत्युदरको संख्या पनि सबै भन्दा बढि विन्दुमा पुग्यो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार पछिल्लो समय कोभिड–१९ संक्रमितसँगै मृतकको संख्या पनि अस्वभाविक रुपमा बढेको छ । वैशाखका सुरुवातमा पहिलो साता ५ जनाको मृत्यु भएको थियो भने दोस्रो साता थप १८ जनाको मृत्यु भयो । तेस्रो साता ४५ जनाको मृत्यु भयो भने अन्तिम सातामा मात्रै ९२ जना संक्रमितको मृत्यु भयो ।
यस्तै जिल्लामा संक्रमितसँगै सक्रिय संख्या पनि अस्वभाविक रुपमा बढेकै छ । वैशाखका सुरुवातमा पहिलो सातामा चार सय ४७ जना सक्रिय संक्रमित थिए, दोस्रो सातामा १८ सय ८७ जना भए । तेस्रो सातामा यो संख्या बढेर ४ हजार ६ सय ७६ पुग्यो र अहिले अन्तिम साता ७ हजार २ जना सक्रिय संक्रमित जिल्ला भरि रहेका छन ।
एक महिनामा १८८ संक्रमितको मृत्यु
रुपन्देहीमा दोस्रो लहरको कोरोना संक्रमणबाट अस्पतालमा मात्रै एक महिनामा एक सय ८८ जनाको मृत्यु भएको छ । रुपन्देहीमा रहेका ५ वटा कोरोना अस्पताल मध्ये लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ३ सय ५८ जना भर्ना भएकोमा एक सय ५४ जना निको भइ घर फर्केका छन भने १३३ जना उपचाररत र ७१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै क्रिमशन अस्पताल मणिग्रामले पनि ७५ जना संक्रमितको उपचार गरेकोमा ५१ जना निको भएका छन भने १८ जना अझै उपचाररत छन, ६ जनाको उक्त अस्पतालमा मृत्यु भएको छ । यसैगरि भैरहवा स्थित भिम अस्पतालमा पनि एक सय ८४ जनाले उपचार पाएकोमा ३३ जना मात्र निको भएका छन । १०९ जना उपचाररत छन भने ४२ जनाको मृत्यु भएको छ । देवदह स्थित मेडिकल कलेजले २३ जनाको उपचार गरेको मध्ये १ जनाको मात्र मृत्यु भएको छ । १० जना निको भई घर फर्केका छन भने १२ जना अझै उपचाररत रहेको कार्यालयले जानकारी दिएको छ ।
यसैगरि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले एक महिनाको अवधिमा ३ सय ३ जना संक्रमितको उपचार गरेकोमा १५९ जना निको भई घर फर्केका छन भने ६८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।
मेडिकल कलेजमा अझै ७६ जना उपचाररत छन । यसरी जिल्ला भरि एक महिना अवधिमा कुल ९४३ जना संक्रमितको अस्पतालमा उपचार भएकोमा ४०७ जना निको भएका छन भने १८८ जनाको मृत्यु भएको छ । यो तथ्याङक अस्पतालमा गएका संक्रमितहरुको मात्र हो होम आइशोलेशनमा पनि मृत्यु भएक उनीहरुको तथ्याङक यस्मा समावेश नगरिएको थापाले भने ।
रुपन्देही हटस्पट, निषेधाज्ञा २ साता थप
रुपन्देही कोभिड हटस्पट रुपमा छ । बढ्दो कोरोना भाइरसको संक्रमण दोस्रो लहरले सबैभन्दा धेरै प्रभावित जिल्लाको रुपमा रुपन्देही छ, सक्रिय संक्रमितहरु घरमै रहेकाले समूदायमा संक्रमण झनै बढेर जाने जोखिम बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्दोर निरिक्षक केदार शाहले बताए ।
अस्पतालमा बेड र अक्सिजनको अभाव भएपछि लक्षण देखिएका संक्रमितहरु समेत घर बस्नुपरेकाले कोभिडबाट ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने जोखिम छ । रुपन्देहीमा हालसम्म तीन सय ९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
रुपन्देहीमा जारी निषेधाज्ञाले संक्रमण केही हद सम्म नियन्त्रणमा भएपनि संक्रमित थपिने दर र मृत्यु दरमा कमी नआएपछि रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थपिएको छ ।
भैरहवामा हिजो बसेको डीसीसीएमसी रुपन्देहीको बैठकले निषेधाज्ञालाई २ साता थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा निर्माण लगायतका गैर खाद्य उद्योगहरु पूर्णरुपमा बन्द गर्ने, बैंक बित्तीय संस्थामा एक जना प्राविधिक मात्र राखेर अन्य काम बन्द गर्ने तथा तरकारीजन्य सामग्रीहरु स्थानीय तहको समन्वयमा कृषि एम्बुलेन्स मार्फत बिक्रिवितरण गर्ने जस्ता आदेशहरु उल्लेख गरिएको छ ।