बुटवल । कोरोना भाइरसविरुद्ध एण्टिबडी निर्माण गर्ने भनिएको कोभिशिल्ड र कोभ्याक्सिन खोपहरुले भारतीय म्युटेन्ट भनेर चिनिने बी.१.६१७ नामक भेरियण्टविरुद्ध आसा गरिएभन्दा आधा मात्रै एण्टिबडी विकास गरेको एक अध्ययनमा देखिएको छ ।
अस्ट्राजेनेकाद्वारा निर्मित यी खोपहरु नेपाल लगायत भारत र अन्य दक्षिण एसियाली मुलुकहरुमा लगाइराखिएको छ ।
ईण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) का बैज्ञानिकहरुले प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनका श्रीङ्खलाहरुलाई अध्ययन गर्दा भारतीय म्युटेन्टविरुद्ध यी खोपहरुले आसा गरेभन्दा आधा मात्रै एण्टिबडी बिकास गरेको पाइएको हो । यद्यपि, एण्टिबडीको मात्रामा ह्रास आएपनि कोभिड–१९ विरुद्ध खोपको प्रभावकारीतामा कमी नआउने बिज्ञहरुको दावी छ ।
भारतमा आधिकारिकता पाएका कोभ्याक्सिन र कोभिशिल्ड कोरोनाको बी १ भेरियण्टलाई ब्लुप्रिण्ट मानेर विकसित गरिएको थियो । यसको कारण थियो, गएको गत बर्षको अप्रिलमा बी १ को संक्रमकता अन्य भेरियण्टको भन्दा निकै हुनु । नयाँ भेरियण्टको संक्रमकण बढ्दै गएपछि नेशनल ईन्स्टिच्युट अफ भाइरोलोजी(एनआइभी) पुणेले यी खोपको दुवै डोज लगाएका व्यक्तिहरुमा एण्टिबडी विकासको अध्ययन गरेको थियो ।
कोभ्याक्सिन खोपले बी १ भेरियण्ट विरुद्ध विकसित गर्ने एण्टिबडीको ५५ प्रतिशत मात्रै एण्टिबडी बी.१.६१७ अर्थात् भारतीय भेरियण्टविरुद्ध विकास गर्न सकेको अध्ययनमा पाइएको छ । अर्थात् भारतीय भेरियण्टबाट संक्रमित भएका व्यक्तिले लगाएको खोपले बी १ भेरियण्टबाट संक्रमित भएका व्यक्तिले लगाएको खोपले भन्दा ४५ प्रतिशत कम एण्टिबडी बिकास गर्छ ।
कोभिशिल्ड लगाएका व्यक्तिहरुमा पनि समानखालको अध्ययन गरिएको थियो । बी.१ बिरुद्ध कोभिशिल्डको जीएमटी (एण्टिबडी संख्याको मापन गर्ने प्रोक्सी) ४२.९२ देखियो भने भारतीय भेरियण्टबिरुद्ध २१.९ अर्थात् झण्डै आधा देखियो ।
पुणेस्थित आइसीएमआर–नेशनल ईन्स्टिच्युट अफ भाइरोलोजी(एनआइभी)का बैज्ञानिकहरुले कोरोना संक्रमितबाट नमूना संकलन गरी युके भेरियण्ट(बी.१.१.७), साउथअफ्रिका भेरियण्ट(बी.१.२५१), ब्राजिल भेरियण्ट(पी२) र भारतीय भेरियण्ट(बी.१.६१७) को उपस्थितीबारे अध्ययन गरेका थिए । भारतीय भेरियण्टसँग सम्बन्ध राख्ने तीन वटा भेरियण्टहरुले भारतमा कोरोना संक्रमितको संख्या निकै बढाइरहेका छन् ।
खुला सीमा कारण नेपालमा पनि यी भेरियण्टहरुले नै संक्रमण फैलाइरहेको हुनसक्ने आंकलन त गरिएको छ, तर जिन सिक्वेन्सिङ गरेर भाइरसको अध्ययन नगरिएका कारण पुष्टि भएको छैन । त्यसकारण दोस्रो लहरको सुरुवाती ताका स्वास्थ्य मन्त्रालयले नेपालमा युके भेरियण्ट फैलिरहेको पुष्टि गरेपनि भारतीय भेरियण्टबारे भने अनुमान मात्रै व्याप्त छ ।
आइसीएमआर संक्रामक रोग विभागका प्रमुख डा सामिरन पाण्डाले एण्टिबडी निर्माणमा ह्रास आएको देखिएपनि कोभिशिल्ड र कोभ्याक्सिनले भारतीय भेरियण्टविरुद्ध ‘करिब उत्तिकै’ सुरक्षा दिने बताए ।
खोप लगाएकाहरुमा सम्भावित संक्रमणको सुरक्षालाई उनीहरुको शरिरमा विकसित भएको एण्टिबडी एक्लैले निर्धारण गर्ने होइन । शरिरमा टी–सेल(प्रतिरक्षा कोषिका)को ‘मोविलाइजेशन’ले पनि निर्धारण गर्छ । टी–सेलले भाइरसविरुद्ध प्रत्यक्ष आक्रमण गर्छ भने एण्टिबडीले भाइरसलाई ‘रेप्लिकेट’ हुन दिदैंन ।
‘एण्टिबडीमा गरिएका अध्ययनले टी–सेलको सक्रियतालाई देखाउँदैनन् । त्यसमाथि यी अध्ययनहरु निकै सानो संख्यामा गरिएका छन्,’ डा पाण्डाले बताए ।
सेन्टर फर सेलुलर एण्ड मोलिकुलर वायोलोजि हैद्रवादका पूर्व निर्देशक राकेश मिश्रले एण्टिबडीको बिकासमा आधा कम हुनु भनेको खासै चिन्ताको विषय नभएको बताए ।
‘दश भाग अथवा त्यो भन्दा धेरैले घटेको भए त्यो कुरा महत्वपूर्ण हुनसक्थ्यो । त्यैपनि प्रयोगशाला अनुसार यस्ता परिक्षण गर्ने फरक फरक तरिका हुन्छ,’ उनले भने ।
-द हिन्दुमा प्रकाशित लेखको सहयोगमा जीवराज चालिसेले तयार पारेको सामग्री