बुटवल । ३६ बर्षका राम(नाम परिवर्तन) लाई अप्रिल १८ मा कोभिड पोजिटिभ देखियो । लक्षण सामान्य थियो । घरबाटै एक जना डाक्टरसँग सल्लाह लिइरहेका थिए । डाक्टरले कोभिड–१९ को बिरामीलाई दिइने नियमित औषधीहरु प्यारासिटामोल, भिटामिन र मिनरल्स लिन सुझाए ।
तर, उनलाई निको भएन । छैठौं दिन उनलाई १०२–१०३ डिग्री सम्म ज्वरो आयो । उनको रगतको रिपोर्टहरुले फोक्सो सुनिएको देखाए । अब डक्टरले उनलाई स्टेरोइड खान सिफारिस गरे ।
स्टेरोइडले सुजन र ज्वरो त केही घटायो, तर संक्रमण हुनुभन्दा अगाडिबाट नै उनमा रहेको डायविटिजलाई भने झनै बढाइदियो । केही दिन पछि त खाने औषधीले पनि सुगर लेभललाई घटाउन नसकेर उनलाई सुईबाट इन्सुलिन नै दिनु प¥यो । तर, उनको समस्याको अन्त्य त्यो थिएन ।
केही दिनपछि उनको दाइने आँखा निकै दुख्यो र फुलियो पनि । दाइने गाला पनि छोइनसक्नु गरी फुल्यो । टाउको पनि उसैगरी दुख्यो ।
अब भने उनको डक्टरले अस्पताल बोलाए । जाँच्दा पत्ता लाग्यो, उनको नाकभित्र पाप्रा जस्तो देखिने संक्रमण रहेछ । उनलाई तत्काल अस्पताल भर्ना गरियो । नाकभित्रको त्यो तन्तुको वायोप्सी गरेपछि थाहा भयो, त्यो त म्युकरमाइकोसिस पो रहेछ ।
डक्टरहरुले उनलाई ‘एण्टिफंगल’ औषधी त चलाए, तर संक्रमण आँखा, नाक र गालासम्मै पुगिसकेकाले डाक्टरहरुसँग उनको दाहिने आँखा फाल्नुको विकल्प थिएन । संक्रमणलाई मस्तिष्कसम्म पुग्न नदिन डक्टरले शल्यक्रिया गरेर उनको आँखा फाले ।
‘यो एउटा जीवन बचाउनका लागि गरिएको शल्यक्रिया थियो । शल्यक्रियाले अनुहारमा विरुपता ल्यायो होला, तर यदी संक्रमण मस्तिष्कमा पुगेको भए उनको जीवन बचाउन सकिने थिएन,’ सर गंगाराम अस्पताल दिल्लीका इएनटी कन्सल्टेन्ट डक्टर मनिष मुञ्जलले बताए ।
डक्टर मुञ्जलले अगाडि थपे–‘म्युकरमाइकोसिस, एउटा दुर्लभ दाज संक्रमणले धेरै कोभिड–१९ बिरामीहरुको दृष्टि, बंगाराको हड्डी र नाकमा धेरै असर पुर्याएको छ । केहीको त स्नायुमा समेत गम्भीर असर पारिरहेको छ ।’
म्युकरमाइकोसिस अथवा ब्ल्याक फंगस संक्रमण म्युकरमाइसिटिस नामक ‘मोल्ड्स’ले गराउँछ । यस्ता ‘मोल्ड्स’ हावा र शितोष्ण ठाउँमा पाइन्छ । अहिल्लो लहरको कोभिड–१९ संक्रमणमा भन्दा यसपटक भारतमा ५० प्रतिशतले ब्ल्याक फंगसको संक्रमणमा बृद्धि भएको चिकित्सकहरुले पुष्टि गरेका छन् ।
यस्तो फंगसलाई तपाईले धेरैदिन देखि सफा नगरिएको पानी ट्याङ्की अथवा चिसो ठाउँमा भेट्न सक्नुहुन्छ । साधारण मानिसको प्रतिरक्षाले यसतो फंगसलाई सजिलै परास्त गर्न सक्छ, तर प्रतिरक्षा कमजोर भएका, डायविटिज भएका व्यक्तिहरुमा फंगस नाकको प्वालबाट छिर्छ र बढ्न थाल्छ । यो नाक, गाला हुँदैं बढ्छ र कम्पाराको हड्डी, फोक्सो र मस्तिष्कभित्र समेत छिर्न सक्छ,’ ईण्डियन काउन्सिल अफ मेडिकल रिसर्च, जोधपुरका विज्ञ डा. अरुण शर्माले बताए ।
कम प्रतिरक्षा भएका कोभिड–१९ संक्रमितहरुले अधिक मात्रामा स्टेरोइड प्रयोग गरेमा फंगस संक्रमण हुने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।
‘कोभिड–१९ संक्रमणको दोस्रो फेजमा गम्भीर सुजन देखिएका बिरामीहरुलाई स्टेरोइड प्रयोग गर्न सिफारिस गरिन्छ । तर, निकै छिटो, निकै धेरै र लामो समयसम्म स्टेरोइड दिइयो भने संक्रमितले माध्यामिक ब्याक्टेरियल तथा फंगल संक्रमण छोप्नसक्ने जोखिम हुन्छ,’ आइसीएमआरका डा. समिरन पाण्डाले बताए ।
यस्तो संक्रमण अनियन्त्रित डायविटिज भएका बिरामी र बृद्धहरुमा धेरै देखिएको डक्टरहरुले बताएका छन् । नाकको प्वालमा कालो धब्बाले यो संक्रमणको जानकारी दिन्छ । जव यो मस्तिष्कभित्र छिर्छ, यसले मानसिक अवस्थालाई नै परिवर्तन गरिदिन सक्छ । त्यतीबेला मतिभ्रम, मिर्गी, जस्ता लक्षणहरु देखिन्छ । फोक्सोमा छिर्यो भने गम्भीर निमोनिया देखिन्छ भने यदी आँखामा छिरेमा दृष्टि गायब हुनसक्छ ।
साधारणतयाः दुई हप्ताभन्दा धेरैदेखि उपचारमा रहेका र त्यसमा पनि आइसीयुमा रहेका कोभिड–१९ संक्रमितमा फंगल संक्रमणले असर गर्न सक्ने चिकित्सकहरुको भनाइ छ ।
‘संक्रमण भएको पहिले नै थाहा भयो भने बजारमा पाइने ‘एण्टिफंगल’ औषधीले नै यसलाई निको पार्न सक्छ । त्यसैले डाक्टरहरु संक्रमण भयो कि भएन भनेर चनाखो हुनुपर्छ । तर, अवस्था गम्भीर भइसकेको छ भने ज्यान बचाउन डाक्टरहरुले शरिरका अंगहरु समेत काटेर फाल्नुपर्ने हुनसक्छ,’ डा. शर्माले भने ।
दिल्ली, महाराष्ट्र जस्ता राज्यमा धेरै जनामा म्युकरमाइकोसिस देखिएपछि राष्ट्रिय कोभिड–१९ टास्क फोर्सले उपचारको प्रक्रिया समेत जारी गरेको छ । म्युकरमाइकोसिसको उपचारसँगसँगै बिरामीको रगतमा सुगरको तह नाप्ने र नियन्त्रणमा लिने तथा ‘इम्युनोमोडुलेटिङ’ औषधीहरुमा रोक लगाउनुपर्ने बताएको छ ।
संक्रमण हुनै नदिन कोभिड–१९ संक्रमितले आफूले प्रयोग गर्ने अक्सिजन मास्क र क्यानुलालाई निर्मलिकरण गर्नुपर्ने डाक्टरहरुले बताएका छन् । उनीहरु भन्छन्, अक्सिजेनेसनमा प्रयोग गरिएको पानी दुषत छ÷छैन भनेर नियमित जाँच गर्नु पर्छ र नाक र छालामा पहिले नै चिन्हहरु देखिने भएकाले त्यता पनि ध्यान दिइरहनु पर्छ ।
–द हिन्दुबाट