बुटवल । ‘हाम्रो स्वास्थ्य क्षेत्र यतिविघ्न तरिकाले गुज्रिसकेको छ भन्ने थाहा थिएन,’ अनेकन उपाय लगाउँदा पनि लुम्बिनी प्रादेशिक अस्पतालमा शैय्या मिलाउन नसक्दा आफ्नै आँखा अगाडि कोरोना संक्रमणबाट पत्नी गुमाएका देवदह नगरपालिकाका वडाध्यक्ष दामोदर क्षेत्रीले खुइय गर्दै भने ।
बैशाख १४ गतेको कुरा हो । तीन/चारदिनदेखि ज्वरो आएपनि त्यसदिन सास फर्ने अलिक अफ्ट्यारो भएपछि दामोदरले पत्नीलाई उपचार गराउन लुम्बिनी प्रादेशिक अस्पताल लिएर आएका थिए । घर फर्कदा एक्लै फर्कनु पर्ला भनेर चिताएका थिएनन् ।
अस्पतालमा बेड र अक्सिजन खोज्दाखोज्दै सास फेर्न अफ्ट्यारो मानिरहेकी उनकी पत्नीको उपचार गर्न निकै ढिला भइसकेको थियो । ‘डाक्टरहरुलाई अनुनय गरेँ । जताततै फोन घुमाएँ । अक्सिजन कतै पाइएन । उनी एम्बुलेन्समा नै छट्पटाइरहिन्,’ उनले मसँग भने ।
ठूलो संघर्षपछि फिवर क्लिनीकमा बेड त पाइएको थियो, तर त्यहाँ सुताएको केही समयमा नै उनको मृत्यु भयो । ‘त्यहाँ निकै ठूलो उपचार खोजिएको थिएन । कोरोनाको थेराप्युटिक उपचार भन्दा अर्को हुन्न भन्ने थाहा थियो हामीलाई पनि,’ दामोदरले भने,‘तर, अस्पताल गएको बिरामी सुत्ने बेडसमेत नभैर एम्बुलेन्समा नै छट्पटाउनु परेको त्यो पिडा कहिल्लै भुल्न सक्दिन होला ।’
प्रादेशिक अस्पतालमा स्वास्थ्य संरचनाकै अभावमा उपचार सुरु पनि नभई दामोदरले आफ्नी पत्नी गुमाए । अझै दुखलाग्दो कुरा त के हो भने अहिले उनी एक्ला व्यक्ति होइनन्, जसले यो महामारीमा सरकारी स्वास्थ्य प्रणालीको कमजोरीका कारण यो महामारीमा उपचार नै नपाएर आफ्ना आत्मीय व्यक्ति गुमाएका छन् ।
अस्पतालका फिजिसियन डा. नन्दु पाठकका लागि वितेका केही हप्ता निकै कष्ठकर बनेका छन् । साइरन बजाउँदै संक्रमित बोकेर आएका कयौं एम्बुलेन्स गेट बाटै फर्केको देखेका छन् उनले । अक्सिजन मिलाईदिन संक्रमितका आफन्तहरु उनका सामू हाल फैलाउँछन्, जोडेर विन्ति गर्छन्, कोही रुन्छन् । रगतमा अक्सिजनको तह घटेका तर अन्य गम्भीर लक्षण नभएका विरामीहरुलाई अक्सिजन दिने हो भने बाँच्छन् भन्ने उनलाई थाहा छ, तर उनी निरिह देखिन्छन् ।
बैशाख २९ गते त्यस्तै भयो । बिरामी जाँच्दाजाँच्दै अस्पतालमा नियमित आपूर्ती हुनुपर्ने अक्सिजन कतै रोकियो । यता अस्पतामा ५१ जना विरामीलाई अक्सिजनको सहयोगमा उपचार भइरहेको थियो । बिरामी जाँच्न छाडेर उनी आफै अक्सिजनका लागि प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायत संघसंस्था गुहारे । तर, उपाय लागेन । अस्पतालमा उपचार गराइरहेका बिरामीले आघाघण्टा अक्सिजन पाएनन् । बुटवलका २९ बर्षीय एक जना पुरुष, ५२ बर्षीय दुई जना पुरुष र ५९ वर्षीय एक महिलाले सास फेर्न नपाएरै ज्यान गुमाए । उनीहरुसँगै अस्पतालमा उपचार गराइरहेका पश्चिम नवलपरासी बर्दघाटका ४४ बर्षीय पुरुष पनि तड्पिएरै देह त्याग गरे ।
‘म मेरो मानवीय संवेदना जोगाउन सक्दिनँ कि भन्ने पीर पर्न थालेको थियो,’ उनले मसँग कुरा गर्दै भने,‘कोरोनाको उपचार हुँदैन भन्ने थाहा छ । तर अक्सिजन कै अभावमा निको हुने खालका बिरामीको पनि मृत्यु भयो । यस्तो बेला निकै पीडा महसुस हुन्छ ।’
सोही दिन उता भैरहवाको भिम अस्पतालमा १५ मिनेटका लागि अक्सिजन आपूर्ति के रोकिएको थियो, रुपन्देही दक्षिणका ३९ बर्षका पुरुष, ४४ बर्षकी महिला र ७० बर्षकी महिलाले ज्यान गुमाए ।
अस्पतालको भयावहता रुपन्देहीका यी दुई अस्पतालमा मात्रै होइन, कोरोनाको दोस्रो लहरले अड्डा जमाएको लुम्बिनी प्रदेशका अन्य अस्पतालहरुमा पनि उस्तै छ । प्रदेश सरकारले सञ्चालन गरेको बाँकेको भेरी कोरोना अस्पताल र दाङको बेलझुण्डी कोरोना अस्पतालहरुले उत्तिकै सकस बेहोरिरहेका छन् । तथ्याङ्कले यो कुरा अझै स्पष्ट पार्छ, बैशाख २५ गतेदेखि जेठ १ गतेसम्ममा प्रदेश भर दुई सय ९५ जनाको मृत्यु भएको छ । अझै विश्लेषण गर्दा त्यो एक हप्ते अवधिमा थपिएका संक्रमितमध्ये तीन प्रतिशतले प्रदेशका विभिन्न अस्पतालमा ज्यान गुमाएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालकी कार्यवाहक नर्सिङ इन्चार्ज सृष्टि कोइरालाले जटिल लक्षण देखिएर आएका संक्रमितलाई बेड अभावमा अन्तै रेफर गर्दा उनीहरुको सडकमै मृत्यु हुने गरेको बताइन् । ‘कतिपयले त हामीले रेफर गरेपनि बेड नपाएपछि यहीँ फर्कनु हुन्छ र बेड कुर्दा कुर्दै यहीँ मृत्यु हुन्छ,’ मसँग कुरा गर्दै उनले भनिन्,‘यहाँ कुर्दा पनि अक्सिजन पाउनुहुन्न ।’
सत्य के हो भने अस्पतालमा अक्सिजन र शैय्या नपाएकै कारण यत्रो संख्यामा ज्यान गएको होइन, तर के कुरालाई नकार्न मिल्दैन भने समयमा नै अक्सिजन पाएको भए मृतकको संख्या यतिविघ्न बढ्न पाउने थिएन । यो कुरालाई संक्रमितको उपचार गरिरहेका डा. पाठकले नकार्न सक्दैनन् । उनी भन्छन्,‘आइसीयु तथा एचडियु लगायतका शैय्या र अक्सिजन नपाएर बिरामीले उपचार नपाउँदा मृत्यु दर बढेको कुरालाई होइन भन्न मिल्दैन ।’
सैनामैना–१ की ६२ बर्षीय महिलालाई बैशाख २५ गते ज्वरो आउने, खोकी लाग्ने भयो, तर ‘अस्पतालमा हालत झनै खराब छ, बरु घरमै सञ्चो होला’ भनेर उनलाई अस्पताल लगिएन । घरमा उनलाई निको भएन । तीन दिनपछि विहान सास फेर्न गाह्रो भएर उनी ढलिन् । आफन्तले बल्ल उनलाई अस्पताल तिर त लगे तर कतै पनि आइसीयू शैय्या फेला नपरेपछि फेरी घरै फर्काए । घरमा नै उनको मृत्यु भयो । साँझ स्वास्थ्यमन्त्रालयले जारी गरेको कुल मृत्युसंख्यामा उनी जोडिइनन् ।
सैनामैनामा ‘होमआइसोलेसन’मा बसिरहेका संक्रमितहरुको फाट्टफूट्ट यसरी नै मृत्यु भइरहेको छ । त्यहाँका स्थानीयसँग कुरा गर्दा कतिपयले ले त लक्षण देखिंदा समेत कोरोना परिक्षण नै नगरी घरमै बसिरहेको थाहा पाएँ । सैनामैना–१ का वडाध्यक्ष केयरसिंह गलामीले भने,‘घरमै बसिरहेका संक्रमितको पनि मृत्यु भइरहेको छ । तर, को कति भन्ने थाहा छैन ।’
ठूलो सुकुम्वासी वस्ती र धेरै जनसंख्या भएको बुटवल उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको ‘वडामा घरमै बसिरहेका संक्रमितको मृत्यु भएको छ, तर कतिजना भनेर थाहा छैन ।’ वडाध्यक्षले भने,‘अस्पताल नगई घर मै मृत्यु भएकाहरुको संख्या सरकारी तथ्याङ्कमा जोडिएको छैन । होमआइसोलेसनमा कतिको मृत्यु भयो भनेर हामीले केही दिनमा बल्ल तथ्याङ्क संकलन गर्न जाँदैंछौं ।’
यी कुराहरुबाट स्पष्ट हुन्छ, लुम्बिनी प्रदेशमा अस्पताल नै नगई, गएपनि शैय्या नपाई र शैय्या पाएपनि अक्सिजन नपाई कोरोना संक्रमितको मृत्यु भइरहेको छ । जसले गर्दा महामारीले पारेको वास्तविक मानवीय असरको आँकलन गर्न गाह्रो परेको छ ।
स्थिती कसरी नियन्त्रण बाहिर पुग्यो ?
गत बर्ष असोज ७ गते लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कोरोना महामारीको व्यवस्थापनमा खेलेको भूमिकाको फेहरिस्त प्रस्तुत गर्दै सरकारको प्रयासले कोरोना महामारीको ‘दोस्रो चक्रको उच्चतम विन्दु प्राप्त भइसकेको र हामी समाधानतर्फ गइरहेको’ विश्लेषण गरेका थिए । उनले भनेका थिए, ‘कोरोना संक्रमणको पहिलो चक्र र दोस्रो चक्रबीचमा अलि ग्याप होला भन्ने हाम्रो अनुमान थियो । तर के भयो भने, पहिलो चक्र हामीले अनुमान गरेभन्दा अलि छिटो नै सकियो । तर दोस्रो चक्र अनुमान गरेभन्दा छिटो आइपुग्यो । अहिले हामीले दोस्रो चक्र सामना गरेका छौं । यो दोस्रो चक्रको पनि उच्चतम विन्दु प्राप्त भइसक्यो भन्ने लाग्दछ । अब हामी क्रमशः त्यसको समाधानतर्फ जान्छौं भन्ने विश्लेषण प्रदेश सरकारको रहेको छ ।’
र, उनी आत्मविश्वासका साथ अझै अगाडि बढेका थिए,‘कोरोनाको पहिलो चक्रमा प्रदेश सरकारका तर्फबाट जे जस्तो प्रवन्ध गरेका थियौं, त्यो प्रवन्ध दोस्रो चक्रको सामनाका लागि पर्याप्त छन् भन्ने लागेको छ ।’
मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा कोरोना संक्रमण नियन्त्रणमा सरकारले ‘महत्वपूर्ण काम गरेको’ बताएयता प्रदेशमा थप नौ सय २९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । थप ४६ हजार चार सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ र मृत्युदर ०.७२ प्रतिशतबाट बाट बढेर २ प्रतिशतमा पुगेको छ । (हे. तालिका १)
मुख्यमन्त्रीको भनाईबाटै स्पष्ट हुन्छ, महामारी फैलाइरहेको भाइरसको उत्परिवर्तित क्रिया (मेकानिज्म अफ म्युटेशन) लाई प्रदेश सरकारले बुझेन । त्यसैले सम्भावित जोखिम आँकलन गरी त्यसको पूर्वतयारी गर्न सकेन । फलस्वरुप फेब्रुअरी १० मा भारतबाट सुरु भएको संक्रमणको दोस्रो लहरले प्रदेशको कच्चा स्वास्थ्य प्रणालीलाई नङ्गयाइरहेको छ । बाँके र रुपन्देहीलाई ‘हटस्पट’ बनाएर प्रदेश भर भाइरस सल्किरहेको छ ।
प्रदेश सभामा सात महिनाअघि मुख्यमन्त्रीले दिएको वक्तव्य सुनेपछि लाग्छ, सरकारले महामारीलाई चिनेकै रहेनछ । अझै मुख्य कुरा त भाइरसको उत्परिवर्तित प्रवृत्तिबारे सरकारलाई त्यतीबेला थाहा नै रहेनछ । त्यसैले भारतमा कोभिडको नयाँ उत्परिवर्तित स्वरुपले भयावह पार्दासमेत सीमामा यसअघि सञ्चालन गरिएका हेल्थ डेस्कलाई पुनः सञ्चालन गरिएनन् । भारतबाट निर्वाध आइरहेका आफ्ना नागरिकहरुलाई अघिल्लो लहरमा जस्तो क्वारेण्टाइनका लागि राखिएन, न त कोभिड लक्षित स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नतिर नै सरकार लाग्यो । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसकोे बाछिटा प्रदेश सम्मै आइपुगेकाले कोरोना व्यवस्थापन गठन गरिएको प्रदेशस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका मुख्यमन्त्री नै सभा सम्मेलन गराउन लागे । प्रदेशभित्रै पुर्ण रुपमा निस्तेज नभइसकेको कोरोना महामारी र भारतबाट सीमा नाका हुँदै भित्रिनसक्ने नयाँ ‘भेरियण्ट’ले ल्याउन सक्ने दोस्रो महामारीको लहरलाई चटक्कै बिर्सिएर संघीय सरकारको सिको गर्दै प्रदेशमा पनि राजनीतिक र्याली, उद्घाटन र शिलान्यासका श्रृङ्खला बैशाख लाग्दासमेत चलिरह्यो ।
बैठक नै नबस्ने सीसीएमसी
संक्रमितको संख्या बढ्न थालेपछि भेरी अस्पताल तथा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञहरुले सरकारलाई मध्य चैततिर नै अवस्थाबारे जानकारी गराएका थिए । सरकार यति व्यस्त भयो कि कोरोना महामारीको दोस्रो लहर अवश्यम्भावि रहेको र त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको(सीसीएमसी) बैठक बस्नु पर्ने भनी विज्ञहरुले दिएको सुझावको समेत बेवास्ता गर्यो । यता प्रदेशको स्वास्थ्य मन्त्रालयले चिठि नै लेखेर ‘भारतसँग जोडिएका कम्तिमा दश वटा नाका खोलेर त्यहाँ हेल्थ डेस्क स्थापना गर्ने र भारतबाट आउने नागरिकलाई यसअघि जस्तै स्थानीय सरकारले सञ्चालन गरेका क्वारेण्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने’ निर्णय गर्दै फागुनमा नै सीसीएमसीलाई पत्र पठाएको थियो । तर, सीसीएमसीको बैठक बसेन ।
बरु महामारीको पहिलोे उभार साम्य हुने बेलातिर गएको २०७७ कार्तिक ५ गते बसेपछि पछि सीसीएमसीको अर्को बैठक सिधै २०७८ बैशाख ७ गते बस्यो । (हे. तालिका २)
त्यतीबेलासम्म प्रदेशमा दैनिक चार सय जनाभन्दा धेरै कोरोना संक्रमित भेटिन थालिसकेका थिए भने भेरी अस्पतालका शैय्या संक्रमितले भरिइसकेका थिए ।
२०७६ चैत २१ गते मुख्यमन्त्री अध्यक्ष रहने गरी गठन भएको प्रदेशको सीसीएमसी संक्रमणको पहिलो लहरमा जति सक्रिय रह्यो, दोस्रो लहरमा त्यती भएन । दोस्रो लहर फैलनुभन्दा अगाडि नै संक्रमणलाई सीमामै रोक्नका लागि सीसीएमसीले विज्ञको सुझाव अनुसार ठूला निर्णय लिन नसकेर संघीय सरकारको निर्णय ताकेर बसेका कारण सक्रियतामा कमी आएको हो । यो कुरा सीसीएमसीका सदस्य सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव डा. खगेन्द्र संग्रौलाको यो भनाईबाट स्पष्ट हुन्छ,‘माथि केन्द्रको निर्णयानुसार प्रदेशले योेजनाहरु बनाउनु पर्ने भएकाले त्यहाँको डिसिजन कुर्नु पर्ने थियो, त्यहाँ बस्नासाथ प्रदेशको सीसीएमसीको बैठक पनि बसेको छ ।’
बैशाखको पहिलो हप्ता प्रदेशको स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएका पूर्व–स्वास्थ्य मन्त्री सुदर्शन बराललाई लाग्छ,‘सीसीएमसीले निकै पहिले नै बैठक बस्नुपथ्र्यो र सीमा नाकामा प्रभावकारी ढंगले नेपाल भित्रने नागरिकहरुको ‘स्क्रिनिङ’ गरेर आवश्यक परेकालाई क्वारेण्टाइनमा राख्न सक्ने गरी व्यवस्था मिलाउनु पथ्र्यो । जिल्ला र स्थानीय तहलाई सक्रिय बनाइराख्नुपथ्र्यो ।’
उता स्थानीय तहमा दोस्रो उभारको सम्भावित जोखिमबारे थाहै नभएजस्ता देखिन्थे । भारतबाट नेपाल छिरेको पहिलो लहरको संक्रमणलाई सीमा मै रोक्न केन्द्र सरकारको मार्गदर्शनमा स्थानीय सरकार र प्रदेश सरकारले जति कोसिस गरेका थिए, झनै छिटो फैलिरहेको दोस्रो लहरका लागि स्थानीय तहका सरकारको प्रयास पनि फितलो देखियो ।
रणनीतिक योजना बनाउनु पर्ने केन्द्र र प्रदेश सरकार तथा कार्यनीतिक योजना बनाउनुपर्ने प्रदेश सरकार र स्थानीय सरकारले संक्रमण फैलनुअघि नै यी दुवैखाले योजना बनाउन नसकेको संघीयताका जानकार अधिवक्ता महेन्द्र पाण्डेले बताउँछन् ।
‘दोस्रो लहर सुरु हुने बेलातिर एकातर्फ संक्रमण फैलन नदिने र अर्को तर्फ स्वास्थ्य प्रणालीलाई संक्रमण केन्द्रित बनाउन सक्नुपथ्र्यो,’ उनी भन्छन्,‘तर सरकार जनताका प्राथमिकता भुलेर राजनीतिक भूमरीमै अल्झिरह्यो ।’
त्यसैले स्वास्थ्य प्रणालीको उछित्तो काढियो
कोरोना महामारीको दोस्रो उभारले आक्रान्त पारेको लुम्बिनी प्रदेशमा मौजुदा स्वास्थ्य संरचनालाई हेर्नेहो भने किन महामारी नियन्त्रणबाहिर पुग्यो भनेर बुझ्न त्यती गाह्रो नपर्ला !
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक प्रतिवेदन अनुसार प्रदेशमा सात सय ५२ वटा सार्वजनिक तथा निजी स्वास्थ्य संस्था छन् । तर अहिले चार वटा अस्थायी कोरोना अस्पतालसहित २२ वटा अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये १० वटा अस्पतालमा मात्रै गम्भीर लक्षण देखिएका संक्रमितको उपचार हुनसक्छ किनभने अन्य १२ वटा अस्पतालमा न भेन्टिलेटर छ, न त आइसीयू नै छ । प्रदेशभर अक्सिजन जडित शैय्या जम्मा छ सय १२ वटा मात्रै रहेका छन् । (हे.तालिका)
१८ हजार सक्रिय संक्रमित रहेको प्रदेशमा त्यती शैय्या निकै कम परिरहेको छ । ‘संक्रमितहरु गम्भीर लक्षण नदेखिदासम्म घरमै बस्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल आउन थालेका छन् । यसले एचडियु र आइसीयूको अभाव बनाएको छ,’ डा. नन्दुले भने ।
यसो त समस्या शैय्या अभावको मात्रै होइन, अक्सिजन आपूर्तीको अझै टड्कारो हो । यसकोे मुख्य कारण बैशाख लाग्दासम्म पनि प्रदेश सरकारले अक्सिजनको जोहो गर्न नसक्नु हो ।
‘अस्पतालमा बिरामीको चाप बढ्न थाल्नुअघि नै अक्सिजन आपूर्तीको सूनिश्चितता गर्न सकेको भए अहिलेको मृृत्युदरसम्म आँकडा पुग्नै सक्थेन,’ डा. पाठक भन्छन् ।
तर सरकारलाई अक्सिजन आवश्यक पर्ला भनेर थाहै थिएन रे ! पूर्वस्वास्थ्य मन्त्री बरालले मसँग भने,‘अघिल्लो महामारीमा अक्सिजनको धेरै चाहिएकै थिएन । आवश्यक परेको यहीँका अक्सिजन उद्योगहरुले धानिरहेका थिए । त्यसैले अहिले त्यतीठूलो मात्रामा अक्सिजनको आवश्यक पर्ला भनेर सोचेंका थिएनौं ।’
त्यतीबेला सरकारले नसोचेपनि अहिले प्रदेशका अस्पतालहरुले दैनिक साढे तीनहजार सिलिण्डर अक्सिजन माग गरिरहेका छन् । तर, प्रदेशका अक्सिजन उद्योगको उत्पादन भने दैनिक करिब २ हजार सिलिण्डर मात्रै छ । प्रदेशका अस्पतालले प्रतिदिन करिब १५ सय सिलिण्डर अक्सिजन अभाव खेपिरहेका छन् ।
बैशाखभित्रै तीन वटा स्वास्थ्यमन्त्रीको बहिर्गमनपछि आएका नयाँ स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले माग धेरै भएका कारण उद्योगहरुले धान्न नसक्नु र संक्रमितहरुले घरघरमा सिलिण्डर राख्नुले अभाव झनै धेरै बल्झिएको बताए । उनले घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिण्डर अस्पताललाई बुझाउन यसअघि मन्त्रालयले अनुरोध गरेको र सिलिण्डर जम्मा हुने क्रम बढिरहेको बताए ।
समस्या यती बल्झिदैं गएको थियो कि बैशाख २९ गते अक्सिजन अभावमा सास फेर्न नपाएर बुटवल र भैरहवामा आठ जनाले ज्यान गुमाएपछि बल्ल सरकार केही तातेजस्तो गरेको छ । यद्यपि, अक्सिजन आपूर्तीको सुनिश्चितता गर्न कुनै दिर्घकालिन योजना छैन । सरकारलाई अहिले आवश्यकताका आधारमा अक्सिजन व्यवस्थापन गर्नपनि निकै चुनौती भइरहेको छ ।
‘काठमाडौं बाट सेनाका हेलिकप्टरमा पनि अक्सिजन ल्यायौं । विराटनगरका प्लाण्टमा भरेर आउने क्रम पनि जारी छ,’ स्वास्थ्य मन्त्री श्रेष्ठले मसँग भने,‘अहिले सबैभन्दा ठूलो समस्या अक्सिजन देखिएको छ । कहाँ अक्सिजनका सिलिण्डर छन् भनेर खोजिरहेका छौं । भेटिएका सिलिण्डरलाई भरेर अस्पताल पुर्याउँछौं ।’
अस्पतालमा शैय्या र अक्सिजन अभावसँगै अर्को ठूलो चुनौती स्वास्थ्यकर्मीको अभाव हो । अभाव परिपूर्ती गर्न प्रदेश सरकारले बेलैमा करिब छ सय दरबन्दी स्वीकृत त गरेको छ, तर स्वास्थ्यकर्मीले काम गर्न इच्छा जताएका छैनन्, जुन अहिले अस्पतालहरुको लागि टाउको दुखाइको विषय बनेको छ । उपचार गर्दागर्दै प्रदेश भरका अस्पतालमा एक सय १३ जना स्वास्थ्यकर्मीहरु अहिले संक्रमित भएका छन् । दाङको बेलझुण्डी तथा भेरी अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीले नै सेवा दिइरहेका छन् ।
यी समस्याको हल स्वरुप बैशाख ८ गते संक्रमणको दोस्रो उभार उठिसकेपछिको बसेको सीसीएमसीको पहिलो र एकमात्र बैठकले प्रदेश सरकारद्वारा सञ्चालित चारवटा कोरोना अस्थायी अस्पतालमा आइसियु बेड थप्न एक करोड ७५ लाख बजेट बिनियोजन गरेको छ । तर त्यसको प्रक्रिया अझै सुरु भएको छैन ।
त्यबाहेक अस्पतालमा जनशक्ति थप गर्न झण्डै ६ सय दरवन्दी स्वीकृत त गरेको छ । यद्यपि, ती दरबन्दीमा निवेदन नै नपर्ने समस्यालाई कसरी हल गर्ने भन्नेतर्फ ध्यान दिएको छैन । र, प्रदेशका सबै जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यो रकम जिल्लाले आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न दिइएको हो । संक्रामक रोग विशेषज्ञहरुले पहिलो लहरभन्दा धेरै घातक मानेको संक्रमणको दोस्रो लहरबाट प्रदेशका नागरिकहरुलाई बचाउन प्रदेश सरकारले गरेको माटामोटी काम यत्ति हो ।
‘प्रदेश सरकारलाई महामारी नियन्त्रणको करिब सब जिम्मा छ । तर जसरी आफ्ना योजना बनाएको छ त्यो सन्तोषजनक छैन,’ अधिवक्ता पाण्डेले भने,‘नागरिकको जीवनरक्षा अहिलेको प्राथमिकतामा राखेर अक्सिजन र उपचारको शुनिश्चितता गर्न ठोस योजना तत्काल आवश्यक छ ।’ यद्यपि, सीसीएमसीका सदस्य सचिव डा. सुवेदीलाई भने ‘सरकारलाई महामारी स्थिती बाहिर गएको लागेको छैन । बरु सबैले आ–आफ्ना ठाउँबाट प्रयास गर्ने हो भने महामारी छिट्टै सकिने’ ठान्छन् ।
समयमा उपचार नपाएर अस्पतालमा आफ्नी पत्नी गुमाएका देवदहका वडाध्यक्ष दामोदर क्षेत्रीलाई महामारीले चर्को चोट दिएपनि उनकै शब्दमा ‘गुज्रेको स्वास्थ्य प्रणाली सुधार्ने मौका पनि दिएको छ ।’
‘स्थानीय सरकारको ध्यान अव आधारभूत आवश्यकतामा कसरी सबै नागरिकको पहुँच बढाउने भन्ने तर्फ जानु पर्छ,’ उनी भन्छन्,‘पहिलो लहरको महामारीपछि सबै स्थानीय तहमा कम्तिमा पनि केही आइसीयु शैय्या निर्माण गर्न सकेको भए दोस्रो लहरको महामारीले यस्तो भयावह पार्ने थिएन होला ।’
तालिका १:
|
असोज २३, २०७७ |
जेठ १, २०७८ |
कुल संक्रमित |
१२,६८५ |
६२,५५७ |
निको भएका |
९,९०६ |
४३,५३६ |
मृत्यु भएका |
९२ |
१०६० |
तालिका २: कहिले कहिले बस्यो सीसीएमसीको बैठक ?
०७६ चैत २१(गठन भएको) |
पहिलो बैठक |
०७७ बैशाख ५ |
दोस्रो बैठक |
बैशाख ८ |
तेस्रो बैठक |
बैशाख १२ |
चौंथो बैठक |
बैशाख १३ |
पाँचौं बैठक |
बैशाख २३ |
छैंठौं बैठक |
जेठ २ |
सातौं बैठक |
जेठ १९ |
आठौं बैठक |
असार १६ |
नवौं बैठक |
साउन २२ |
दशौं बैठक |
भदौ २ |
एघारौं बैठक |
असोज ७ |
बाह्रौं बैठक |
कार्तिक ५ |
तेह्रौं बैठक |
०७८ बैशाख ७ |
चौधौं बैठक |
तालिका ३: लुम्बिनी प्रदेशमा अक्सिजनसहितका शैय्याको विवरण
स्रोत: स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
अस्पताल |
एचडियु |
आइसीयु |
भेण्टिलेटर |
कोरोना विषेश अस्थायी अस्पताल |
|
|
|
१.धागो कारखाना |
३६ |
१६ |
४ |
२.भिम अस्पताल |
२२ |
५ |
४ |
३.भेरी अस्पताल |
६२ |
८० |
१५ |
४.बेलझुण्डी अस्पताल |
७० |
५ |
६ |
अन्य आइसोलेसन |
|
|
|
१.लुम्बिनी प्रादेशिक अस्पताल |
७ |
० |
० |
२.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान |
० |
० |
० |
३.कपिलवस्तु अस्पताल |
२६ |
१० |
४ |
४.पृथ्वीचन्द्र अस्पताल |
० |
० |
० |
५.रोल्पा अस्पताल |
० |
० |
० |
६.प्यूठान अस्पताल |
० |
० |
० |
७.अर्घाखाँची अस्पताल |
१० |
० |
० |
८.गुल्मी अस्पताल |
५ |
० |
० |
९.रुकुमपूर्व अस्पताल |
० |
० |
० |
१०.पाल्पा अस्पताल |
० |
० |
० |
११.बर्दिया अस्पताल |
० |
० |
० |
१२.रामपुर अस्पताल |
० |
० |
० |
निजी अस्पताल |
|
|
|
१. नेपालगञ्ज मेडिकल कलेज |
० |
६३ |
१ |
२. युनिभर्सल कलेज अफ मेडिकल साइन्स |
९० |
१० |
११ |
३. देवदह मेडिकल कलेज |
० |
५ |
२ |
४. क्रिमसन अस्पताल |
१० |
५ |
० |
५. युनाइटेड मिसन अस्पताल |
४ |
० |
० |
६. लुम्बिनी मेडिकल कलेज |
२० |
२ |
२ |
जम्मा |
३६२ |
२०१ |
४९ |