भैरहवा- रुपन्देहीमा एक साता देखि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या एक सातादेपखि बढ्दै गएकोले सक्रिय संक्रमितको संख्या जिल्लामा ओरालो लागेको हो । शनिबार ७ हजार एक सय सक्रिय संक्रमित रहेको रुपन्देहीमा आज शुक्रबार घटेर ५ हजार ५ सय ६० मा पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र होम आइशोलशेनबाट ४ सय ९७ जनाले कोरोना जितेका छन ।
हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
कार्यालयका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार ९ सय ४९ जनाको विभिन्न ल्याबबाट पिसिआर परिक्षण गर्दा १७४ जना महिला र १९६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा ११२ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा ७९ जना, सिद्धार्थनगरमा ३९ जना, सैनामैनामा ६२ जना, देवदहमा १९ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा र कंचनमा १२–१२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरि ओमसतिया र रोहिणीमा ६–६ जना, सियारीमा ११ जना, सम्मरीमाईमा ५, सुद्धोधनमा ४ जना, कोटहीमाई, मायादेवी र गैडहवा गाँउपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको मर्चवारीमा भने आज संक्रमित थपिएका छैनन ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमितसँगै हाल सम्म कुल ३८६ जनाको मृत्यु भएको छ ।
कार्यालयका अनुसार हाल सम्म २४ हजार ६ सय ८१ जना संक्रमित जिल्लाभरि देखिएकोमा १८ हजार ७ सय ३५ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ हजार ५ सय ६० जना मध्ये ३३६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ५ हजार २ सय २४ जना होम आइशोलशनमा रहेका छन ।