दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गरेका छन्। उनले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए।
उनले आइसियुसहितको सेवा सञ्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीवासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताए। उनले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटका लागि सहयोग गर्ने जनाए।
मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र अन्य बिरामीको उपचार गरेकामा प्रतिष्ठानका उपकुलपति प्राडा सङ्गीता भण्डारीलाई धन्यवादसमेत दिए। उनले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेशन कक्षलगायतको निरीक्षण गर्दै १० श्ययाको भेन्टिलेटरसहितको आइसियु तत्काल सञ्चालन गर्न आग्रह गरे।
त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भण्डारीले कोभिडको महामारीमा गरिरहेको काम र प्रगतिबारे जानकारी गराइन्। उनले अक्सिजन प्लान्ट जोड्ने काम तीव्र गतिका साथ भइरहेको र अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएपछि आइसियुका बिरामीले पाइपलाइनबाट अक्सिजन पाउने बताइन्। प्रदेश स्वास्थ्य सचिव डा विकास देवकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पतालमा आइसियु सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे।
सो अवसरमा प्रतिष्ठानका कामु रेक्टर डा सागर पन्थी, डिन डा वसन्त लामिछाने, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको थियो । यसअघि हिजो स्वास्थ्यमन्त्री श्रेष्ठले तुलसीपुर उमहानगरपालिका–८ मा रहेको मेट्रो आइसोलेशन अस्पतालको पनि निरीक्षण गरेका थिए।रासस