काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले एक महीनापछि कोभिड–१९ संक्रमण दर घट्न सक्ने बताएका छन्।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, “चार हप्तापछि संक्रमण दर घट्न सक्छ।”
त्रिपाठीले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य संकटकाल लगाउन मन्त्रालय सकारात्मक रहेको बताए ।
मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउनुपर्ने विज्ञहरूको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको बताए ।
मन्त्री त्रिपाठीले भने, ‘विज्ञहरूले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका छन्, मन्त्रालय त्यसमा सकारात्मक छ ।’
उनले नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले अवस्था थप जटिल बनाएको बताए । ‘यो भेरियन्ट निकै संक्रामक र आक्रामक छ, स्वास्थ्य मापदण्डको अनिवार्य पालना आवश्यक छ,’ उनले भने ।
अहिले दैनिक ७ हजारको हाराहारीमा कोरोना संक्रमित थपिँदै आएका छन्। आइतबार ७ हजार ६६४ संक्रमित थपिएका थिए।
सोमबार बिहानसम्म देशभरी १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित छन्। कोरोनाबाट अहिलेसम्म ६ हजार ३४६ जनाको मृत्यु भइसकेको छ।