बुटवल । कोरोना संक्रमितको उपचारमा खटिइरहेका बेलामा विहीबार साँझ आक्रमणमा परेपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
स्वास्थ्यकर्मीलाई कुट्नेमाथि अबिलम्ब कारबाही चलाउन माग गर्दै उनीहरुले आज शुक्रबार बिहानै देखि अस्पताल परिसरमा नाराबाजी सहित आन्दोलनमा उत्रेका छन् ।
भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीमाथि विहीबार साँझ आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।
लाठि चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । त्यस्तै घटना एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि भएको थियो ।
शुक्रबार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘के स्वास्थ्यकर्मीले सधैं कुटाई नै खाने हो ?’, ‘नो सेक्युरिटी, नो वर्क’ जस्ता नारा लगाउँदैं संक्रमितको उपचारमा खटिएका महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खसाउने खालका क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।
अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भाग्नु परेको बताउँदै त्रासको अवस्थामा स्वाथ्यकर्मीले काम गर्न नसक्ने बताइन् ।
अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।