बुटवल । जिल्ला स्वास्थ्य कार्यालयले आज शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा दुई सय ९ जना कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा छ सय २१ जनामा आरटीपीसीआर परिक्षण गरिएको थियो ।
आजको संक्रमण दर हिजो विहीबार देखिएको भन्दा निकै उच्च हो । विहीबार परिक्षण गरिएकामध्ये १४ प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो यो अवधिमा ८ जना संक्रमितको ज्यान गएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमित तीन हजार तीन सय ५८ पुगेका छन् भने हालसम्मको संक्रमितको संख्या २६ हजार एक सय ९२ पुगेको छ । जिल्लामा हालसम्म चार सय १५ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका रहेका छन् । बुटवलमा ६६ जना सहित सिद्धार्थ नगरपालिकामा १८, तिलोत्तमा नगरपालिकामा ३७, सियारी गाउँपालिकामा ५, देवदह नगरपालिकामा १८, गैडहवामा एक जना थपिएका छन् । त्यस्तै यता सैनामैनामा ३८, ओमसतियामा एक, कञ्चनमा ५, रोहिणीमा २, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ११ र शुद्धोधन गाउँपालिकामा ७ जना थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म संक्रमण भएका मध्ये २ प्रतिशतको मृत्यु, ८५ प्रतिशत निको भएको र अझैं १३ प्रतिशत सक्रिय संक्रमितको रुपमा रहेका छन् ।