बुटवल । पूर्वी एसियाली मुलुक भियतनामको स्वास्थ्यमन्त्रालयले नयाँ भेरियन्ट फेला परेको जनाएको छ । भियतनामका सरकारी अधिकारीहरुले नयाँ भेरियन्टमा इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको बताएका छन् ।
भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उक्त भेरियन्टमा इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता रहेको बताए । यो भेरियन्टको भाइरस हावाका माध्यमबाट छिटो फैलिने भएकाले निकै खतरनाक रहेको उनले बताए ।
भियतनाममा अहिलेसम्म ६ हजार ८ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले ज्यान गुमाएका छन्। गत अप्रिलयता त्यहाँ नयाँ भेरियन्टको भाइरस फैलिइरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीहरूले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र त्यहाँ रहेको आफ्नो कार्यालयले सरकारी अधिकारीसँग मिलेर काम गरिरहेको जनाएको छ । भियतनाममा भेटिएको भेरियन्ट यसअघि भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्ट भएको र त्यहाँ बढी संक्रामक देखिएको हुन सक्ने डब्लुएचओका अधिकारीहरूको अनुमान छ ।
(एजेन्सीको सहयोगमा)