संसारभरि नै रोग र रोगीहरु तीब्र गतिमा बढिरहेका छन्। हिजोआज बिरामीहरु नभएका कुनै घर छैन, घर घरमा बिरामीहरु छन्। ४०, ५० वर्ष पहिला नेपालमा सिटामोल पनि नखाएर सय वर्ष बाँच्ने मानिसहरु धेरै थिए। तर अहिले भने औषधि नखाने मानिस भेट्न गाह्रो छ। दुई दशक यता नेपालमा पेटका रोग, बाथरोग, मुटुका रोग, उच्च रक्तचाप, न्यून रक्तचाप, मधुमेह, थाइरोडिज्म, मोतियाविन्दु, जलविन्दु, चिन्ता, डिप्रेसन, अल्सर, क्यान्सर तथा मृगौला आदिका रोगहरु निकै बढेका छन्। नेपाल मात्र होइन, वास्तवमा विश्व अहिले अनेकौं रोगहरुले आक्रान्त छ।
पछिल्लो अध्ययनका अनुसार विश्वका ९५ प्रतिशत मानिसहरुलाई कुनै न कुनै स्वास्थ्य समस्या छ। अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिस मध्ये १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन। रोगीको लेबल पाएका ती १९ जना मानिसहरुले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रुपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन्। त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात ७,३०१ खरब पुग्नु कुनै अनौठो कुरा भएन।
यसरी संसारभरि रोगहरु बढनुको प्रमुख तीन कारणहरु छन्, पहिलो हो, गलाकाँट प्रतिस्पर्धा र भागदौडको जीवन (स्टे«स), दोस्रो हो, गलत खानपिन तथा प्रदुषित वातावरण र तेस्रो हो, स्वास्थ्य बजार।
सबैभन्दा डरलाग्दो कुरा के भने विश्वमा देखा परेका अधिकांश रोगहरु आफै पैदा भएका होइनन्, पैदा गरिएका हुन्, जानीजानी बढाइएका हुन्। पूर्णतया मेडिकल माफियाको हातमा रहेको स्वास्थ्य बजारले आफ्नो बजार बिस्तार गर्न विश्व राजनीतिलाई नै प्रभावमा पारेर रोगहरु बढाउने मात्र होइन, नक्कली रोगहरु समेत पैदा गर्ने गरेको तथ्य कोही कसैलाई अनौठो र अपत्यारिलो लाग्न सक्दछ, तर सत्य यही हो।
विश्वका मेडिकल माफियाहरु यति शक्तिशाली छन् कि उनीहरुले आफ्नो अनुकुल कानुन बनाउने मात्र होइन संविधान नै संशोधन गर्न सक्ने हैसियत राख्छन्। त्यसैले अहिले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान, चिकित्सा शिक्षा तथा औषधि उत्पादनमा पूर्णतया व्यापारीकरण भएको छ। स्मरण रहोस् स्वास्थ्य बजार विश्वको दोस्रो ठूलो बजार हो।
अहिले स्वास्थ्य क्षेत्र सेवा होइन, धन्दा भएको छ। र, यसको एक मात्र उद्देश्य नयाँ नयाँ औषधि तथा स्वास्थ्य उपकरणहरु बनाउने, विरामीहरु बढाउने र जसरी भएपनि पैसा कमाउने रहेको छ। नेपालको स्वास्थ्य क्षेत्रमा त झनै खुलेआम गुण्डाराज नै छ। साधारण रुघाखोकी लागेर अस्पताल गएका रोगीलाई भयंकर डर देखाइ अस्पतालमा भर्ना गराइ ५, ६ दिन अस्पतालमा राखेर ५० औं हजारको बिल थमाइदिने र बिरामीले बिल तिर्न नसकेको खण्डमा अस्पतालमा बन्दी बनाउने अस्पतालहरु पनि थुप्रै छन्। साधारण रोगहरुका लागि अनेक टेस्टहरु गराउने र रोगहरुको उचित निदान बिना नै झोलाभरि औषधि लेखिदिने कुरा त समान्य हो यहाँ। नेपालमा होलबडी चेकअपको धन्दा त झनै प्रस्टाएको छ।
हो, आधुनिक चिकित्सा विज्ञान आफैमा पूर्णतया खराब होइन, खासगरी आकस्मिक समस्याहरुमा आधुनिक चिकित्सा विज्ञान वरदान साबित भएको छ। तर दीर्घ रोगहरुका हकमा मेडिकल माफियाका कारण यसले रोगहरु बल्झाउने तथा बढाउने काम गरेको छ। त्यो किनभने चिकित्सा विज्ञान नै मेडिकल माफियाद्धारा नियन्त्रित र निर्देशित छ।
एक हट्टाकट्टा स्वस्थ आम मानिसले यत्रतत्र सुन्छ, पत्रपत्रिका तथा समाजिक संजालहरुमा पढ्छ, टेलिभिजनमा हेर्छ, होल बोडी चेकअपका फाइदाहरु। अनि उसले मोटो रकम तिरेर होलबोडी चेकअप गराउँछ। होलबोडी चेकअप गराएपछि रिपोर्ट नर्मल आउने त कुरै भएन। उसको कोलस्ट्रोल बढेको देखिन्छ। उसको सातोपुत्लो उड्छ, त्यो किनभने उसले बारम्बार सुनेको छ कि कोलस्ट्रोल बढे हृदयघात हुन्छ। अनि ऊ अस्पताल दर्गुछ।
चिकित्सले उसलाई कोलस्ट्रोल घटाउने स्टेटीन दिन्छन्। लामो समयसम्म स्टेटीनको सेवनले गर्दा उसलाई मधुमेह हुन्छ। अनि मधुमेहको गोली खान थाल्दछ। केही समय पछि गोलीले काम गर्न छोड्छ, अनि सुईद्वारा इन्सुलिन लिन थाल्छ। यसरी एक माथि अर्को रोगहरु बढ्दै जान्छन्। त्यसपछि ऊ घरि यो त घरि त्यो अस्पतालको चक्कर लगाउन थाल्दछ, खाना भन्दा बढी औषधि खाएर पनि उसका रोगहरु ठीक हुँदैनन्। यो एक दृष्टान्त हो। मेडिकल माफियाका कारण आज अधिकांश विरामीहरुले यस्तै नियति बेर्होनु परेको छ।
सर्वसाधारणले बुझ्नु पर्ने कुरा के भने मानिस औषधिले होइन, उचित आहारविहार (लाइफ स्टायल)–बाट नै स्वास्थ्य प्राप्त गर्न सक्दछ। वास्तवमा निरोगी शरीरका लागि आहारको ज्यादै ठूलो महत्व छ। तर आहारको अर्थ व्यापक छ। मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु। जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो। भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं। तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं। दृश्य पनि आहार नै हो। कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सिधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो। त्यसैले त भनिन्छ,–जस्तो खान्छौं, उस्तै हुन्छौं।’ त्यसैले स्वस्थ जीवनका लागि सन्तुलित प्राकृतिक भोजन, शुभाचरण, निद्रा–विश्राम तथा शुभविचारमा ध्यान दिनुपर्छ, पशुपंक्षीलेझैं प्राकृतिक नियमको पालना गर्नुपर्छ।
ठीक आहारविहार र प्राकृतिक नियमको पालना बिना मानिसलाई विश्वको कुनै पनि औषधिले स्वस्थ र निरोगी बनाउन सक्दैन। हो, रोगमा क्षणिक राहत पाउन र दुखाई कम गर्न औषधि सहायक हुन सक्दछ, तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त हुदैन। मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहारबिहार ठीक हुन जरुरी छ। त्यसैले विश्वलाई रोगमुक्त बनाउन हस्पिटल होइन जनमानसलाई उचित स्वास्थ्य शिक्षा दिनु आवश्यक छ। यदि हरेक मानिसले आफ्नो आहारबिहार ठीक राखी प्राकृतिक जीवनशैली अपनाउने हो भने ९० प्रतिशत अस्पताल, स्वास्थ्यकर्मी तथा औषधिको कुनै काम हुने छैन। मानिसहरु स्वस्थ हुँदै गए रोगहरुको व्यापार स्वतः घट्ने छ।
तर संसारका कुनै पनि देशको स्वास्थ्य क्षेत्र यस बाटोतर्फ हिँडेको देखिँदैन त्यो किनभने यस बाटोमा कुनै नाफा छैन, कुनै फाइदा छैन। तसर्थ लुट्न नपाउने बाटोतिर रोगहरुका व्यापारीहरु हिँड्ने कुरै भएन। चेतना भया।
(लेखक मनोविद् हुन्।)