काठमाडौ - कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले पूर्व तयारी तीव्र पारेको छ । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सबैसँग आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध गरे।
मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए ।
अन्तर्राष्ट्रिय उडान कटौतीको तयारी
सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ ।
आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच पनि थालिएको छ ।स्वास्थ्यमन्त्री ढकालले भने, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’
विमानस्थलमा स्वास्थ्य जाँच
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो देश जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको हो ।
त्यस्तै जहाज काठमाण्डौ अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ । आइतबारदेखि नै विमानस्थलमा यात्रुको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ ।
सातै प्रदेशमा स्वास्थ्य टोली
सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।
विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।