काठमाडौँ : राधा माधव समितिअन्तर्गतको डिभाइन युथ क्लब नेपालले शनिबार आयोजना गरेको ‘कोभिड भ्रम र यथार्थ’ विषयक अनलाइन परामर्श कार्यक्रम (भर्चुअल बैठक)मा उक्त क्लबका सदस्यका साथै देशभरका भण्डै ५०० जनाले कोभिडबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायका साथै रोग लागिसकेपछि गर्नुपर्ने उपचारबारे जानकारी लिएका छन् ।
बैठकमा त्रिविवि शिक्षण अस्पतालका डा अमित श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै मानिसको मुख र नाकबाट निस्कने जीवाणु पाँच–छ फिटसम्म टाढा फैलिने भएकाले कम्तीमा पनि दुई मिटर टाढा बस्नुपर्ने, सङ्क्रमितको मुखबाट निस्कने भिजेको जीवाणुलाई मास्कले रोक्नसक्ने भएकाले यसको अनिवार्य प्रयोग गर्नुपर्ने, हातबाट पनि जीवाणु सर्नसक्ने भएकाले नियमित हातको सफाइ गर्नुपर्नेमा जोड दिए ।
उनले कोरोनाको जीवाणुले आक्रमण गरे पनि प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिले पाँच दिनमै निरोध गर्न सक्ने तर प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा छ दिनदेखि अक्सिजनको मात्र कम हुँदै जाने भएकाले थप अक्सिजनको आवश्यकता पर्ने, बजारमा पाइने नक्कली अक्सिमिटरले सही नतिजा नदिने भएकाले यसको भर पर्न नहुने, काउली र बन्दामा पाइने भिटामिनले रगतलाई बाक्लो गराउने भएकाले रोगीले यस्को प्रयोग कम गर्नुपर्ने, कोरोनाको सुईले शरीरमा भएको कोषिकालाई सक्रिय भएर त्यस्ता जीवाणलाई निष्क्रिय बनाउने भएकाले यसको प्रयोग गर्नुपर्ने, कालो ढुसी (ब्ल्याक फङ्गर्स)का जीवाणुले शरीरमा भएको चिनीको मात्रालाई सोस्ने हुँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले सजकता अपनाउनुपर्ने, शरिरको तौलअनुसार (एक किलो बराबर १५ मिलिलिटर) पानी पिउन पर्ने जानकारी गराउनाका साथै व्यायाम, ध्यान र भजनमा मन लगाएर शरीरलाई उत्साहित गराउने प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याए ।
बैठकमा कान्ति बाल अस्पतालका डा सुदीपचन्द्र श्रेष्ठ, गण्डकी मेडिकल कलेजका डा अमिता थापा र धुलिखेल अस्पतालका डा सञ्जय थापाले छलफलमा सहभागीले सोधेका प्रश्नको जवाफ दिएका क्लबका प्रेस संयोजक मुकुन्द अर्यालले बताए । रासस
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८, १३:५९:००