बुटवल - कोभिड १९ विरुद्धको 'भेरोसेल' खोप तेस्रो चरणको खोप मंगलबार लगाइएको छ । रुपन्देहीमा ६२ देखी ६४ वर्ष उमेर समुहकाले यो खोप लगाएका छन् । बुटवल उपमहानगरपालिकाको बुद्धनगरको सहिद स्मृती आधारभूत प्राविको प्रांगणमा खोप लगाउने ज्येष्ठ नागरिकको विहानैदेखी भिड थियो। खोप लगाउन पाएपछि उनीहरु केही ढुक्क महसुस गरेका थिए।
यसअघि खोप लगाएका ६५ वर्ष माथिका उमेर समुहले अझै दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । त्यस्तै हुने हो कि भन्ने चिन्ता देवीनगर माझगाउँका यमबहादुर थापालाई थियो। ‘खोप लगाउन पाउँदा त राम्रै लागेको छ । दोस्रो डोज लगाउन पाइन्छ कि पाइन्न भन्ने हो ।’ उनले भने ‘पहिलाकाले दोस्रो डोज लगाउन पाएका छैनन् त्यस्तो नभए राम्रो हुन्थ्यो।’

२०७७ बैशाख देखी नेपालमा कोरोना फैलियो । पहिलो लहरमा संक्रमितको संख्या धेरै भएपनि मृत्यु हुनेको संख्या केही कम थियो । दोस्रो लहरमा गम्भीर विरामी र मृत्यु हुनेको संख्या निकै बढी देखियो । बुटवल -९ का ज्ञान सलामी गगन मगरको घरमा पनि सुरुवातमै कोरोना प्रवेश गर्यो । भाडामा बस्नेमा संक्रमण देखिएर अस्पताल लैजान परेपछि उनको परिवार त्रसित भयो । ‘एक छिन बेसरी डराइयो, परिवारमा चाँही केही भएन, अहिले खोप लगाउन पाएकोमा केही ढुक्क भएको छ।’ उनले भने ।

बुद्धनगरको खोप केन्द्रमा लाइन थिएन। तर खोप लगाउनेहरु ढाेका र झयालमा झुम्मिएर बसेका थिए। देबीनगरकी बालकुमारी घिमिरेलाई त्यो मन परेको थिएन। 'स्वास्थ्यकर्मीहरुले भिडभाडमा नहिड्न भन्नुभएको थियो । खोप लगाउने ठाउँमा यस्तो गञ्जागोल छ । घुचेटाघुचेट गरेर खोप लगाइयो ।' उनले भनिन्। उनले आफू मात्र नभई सबै उमेर समूहकाले खोप लगाउन पाउनुपर्ने बताइन । 'हामीले मात्र लगाएर भएन घर परिवारका बच्चाबच्ची सम्मले लगाउन पाए हुन्थ्यो।' घिमिरेले भनिन ।


