काठमाडौं । कोभिसिल्डको दोस्रो डोज खोप लगाउने समय केहि पर धकेलिए पनि आत्तीहाल्नुपर्ने अवस्था भने नरहेको विज्ञहरुले बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरमान राजभण्डारीले केही ढिलो भए पनि डराइहाल्नु पर्ने अबस्था नरहेको बताए ।
‘सुरुमा यो कोभिसिल्ड भारतमा लगाउँदा दास्रो डोज आठदेखि १२ हप्ताको बीचमा लगाउने भनेको थियो । हामी पनि त्यहिअनुसार नै भनेका हौँ तर अहिले पछिल्लो अबस्थामा विश्वव्यापी रुपमा खोपको अभाव सिर्जना भएको कारणले पनि १२ देखि १६ हप्ताको बीचमा दिँदा पनि एन्टिबडी प्रशस्त मात्रामा रहेको हुँदा केहि असर हुदैन,’ उनले भने ।
‘यसका लागि हामीले हाम्रो शरीरमा कति समयसम्म एण्टिबडी रहन्छ भन्ने हेर्नुपर्दथ्यो तर त्यो हामीले गरेका छैनौँ । तर अन्तर्राष्ट्रिय स्तरमा हेर्दा १६ हप्तासम्म एण्टिबडी स्थिर रहिरहेको भन्ने छ त्यसकारण १६ हप्ताभित्र दिँदा खासै फरक पर्दैन,’ डा.राजभण्डारी भन्छन् ।
यदि उपलब्ध हुन्छ भने त्यहि कम्पनीको र उपलब्ध नहुने भए एक्स्ट्राजेनेका र अस्फोर्ड कम्पनीको खोपको फर्मुला पनि मिल्ने भएकाले यसका लागि तत्काल पहल गर्नु आवश्यक रहेको उनले बताए । तर फरक फरक फर्मुलाको खोपहरु चाहिँ लगाउन नहुने उनी बताउँछन् ।
तर पहिलो डोज लगाएकाहरुले दोस्रो डोज खोप नलगाउँदासम्म सुरक्षाका मापदण्ड भने पालना गनुर््पर्नेमा उनको जोड छ । यद्यपि दोस्रो डोज लगाएकाहरुमा पनि संक्रमण देखिएकाले दोस्रो मात्रा लगाएपछि मलाई कोरोना लाग्दैन भनेर ढुक्कले बस्न नहुने उनको भनाई छ । तर उनिहरुलाई जोखिम भने कम हुन्छ ।
पहिलो डोज लगाउँदा यसको प्रभावकारीता ३० देखि ३५ प्रतिशत हुन्छ भने दोस्रो डोज खोप लगाउँदा यसको प्रभावकारीता बढेर ७० देखि ८५ प्रतिशतसम्म रहने उनको दावि छ । पहिलो कोभिसिल्ड खोप लगाएकाले व्यक्तिले चिनबाट अहिले आयातित भेरोसेल खोप लगाउन नहुने उनी बताउँछन् ।
डा. राजभण्डारीका अनुसार यो भ्याक्सिनले भित्र प्रवेश गरेका भाईरसलाई मार्ने नभई एण्टिबडीको निर्माण मात्र गर्ने हुँदा पहिलो डोज लगाएपछि एण्टिबडी कायम रहदै अर्को खोप लगाउँदा निकै प्रभावकारी हुन्छ ।
यस्तै सरुवा रोग बिशेषज्ञ डा. बाबुराम मरासिनीका अनुसार भारतको मात्र भर पर्दा यो अवस्था सिर्जना भएको हो ।
‘खोप प्राप्तिको लागि निकै गाह्रो पनि छ ,यदि नेपालले भारतसँग हिले नै सम्झौता गरे बमोजिमको खोप ल्याएको भए यो अवस्था सृजना हुने थिएन तर भारतले देला कि भन्ने आशाले उपलब्ध सबै खोप लगाउँदा पछि आउनुपर्ने खोपमा अन्यौल देखियो,’ उनले भने ।
भारत सरकारको निर्णय, अदालतको फैसला र भारतमा कारोना धेरै फैलिएकाले पनि नेपालले भारतसँगको सम्झौता अनुसारको खोप नपाएको उनको बुझाई छ ।
यदि भारतबाट खोप प्राप्त हुन सक्दैन भने तत्काल १३ लाख नागरीकलाई दास्रो डोज खोपको सुनिश्चितता हुने गरी अन्य कुनै देशबाट खोप आयात गर्न प्रकृया थाल्नुपर्ने उहँको भनाइ छ ।
‘पहिलो र दास्रो डोज खोपको अन्तर धेरै भयो भने जुन एण्टिबडी विकसित भैरहेको हुन्छ त्यो समाप्त हुने डर हुन्छ । दोस्रो डोज किन लगाएको हो भने पहिलो डोजले रोग प्रतिरोधात्मक शक्ति रगतमा प्रयाप्त मात्रामा उत्पादन गर्न सकेन भने दोस्रो डोज लगाएपछि पर्याप्त मात्रामा रोगसँग लड्नको लागि शक्ति जम्मा भएको हुन्छ,’ उनले भने । दोस्रो डोजको समय धेरै पर गयो भने रगतमा भएको एण्टिबडी पनि रगतबाटै हराएर जाने सम्भावना हुने मरासिनिको भनाई छ ।
बेलायतसँग नेपालले खोपको लागी पहल गर्न जरुरी रहेको उनको जोड छ । यसरी धेरै समय ग्याप राखेर दोस्रो डोज खोप दिँदा पहिलो डोज पनि अप्रभावकारी हुन सक्ने खतरा रहेकाले तत्काल खोप आवश्यक रहेको उनको भनाई छ ।
कुनेै पनि नागरीकले कोभिसिल्ड खोपको सट्टामा अरु कम्पनिले उत्पादन गरेको वा फरक फर्मुलाबाट उत्पादित खोप लगााउन नहुनेमा मरासीनिको सुझाव छ ।
‘यसो गर्दा रगत जम्ने , एलर्जि हुने र शरीरमा नकारात्मक खालका लक्षणहरु देखिने हुनसक्छ यसकारण फरक कोभिसिल्डको सट्टामा अन्य कम्पनिले उत्पादन गरेको खोप नलगाउनुहोला,’ उनले भने ।
‘मेरो विचारमा त के लाग्छ भने भारतबाट नेपालमा खोप आउने सम्भावन कम भयो र चीनबाट पनि अब ठूलो मात्रामा खोप नेपालमा आउन सक्ने म देख्दिन किनभने चीनले पनि आफ्ना बहुसंख्यक नागरीकलाई खोप दिन बाँकी छ, चीनको सञ्जाल पनि ठूलो छ । त्यसैले बरु हामी खोपको लागी बेलायत सरकारसँग आग्रह गर्नुपर्दछ, किनकी बेलायतले आफ्ना ६ करोड नागरीकहरु मध्ये धेरैलाई खोप प्रदान गरीसकेको छ,’ उनले भने ।
यहि जेष्ठ २५ गतेबाट सरकारले चीनबाट सहयोग स्वरुप प्राप्च भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई दिँदै छ । जसको चार हप्तापछि दोस्रो डोज पनि सुरक्षित छ । तर गत फागुन २३ गतेदेखि चैत्र १० गतेसम्म भारतबाट आयातित कोभिसिल्डको पहिलो डोज लगाएकाहरुको भने अहिलेसम्म दोस्रो डोजको कुनै सुनिश्चितता नै छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका १३ लाख नागरीक कोभिड १९ (कोरोना भाईरस) विरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाईमा रहेका छन् ।
भारतसँग खरीद सम्झौता गरेको १० लाख डोज खोप भारतले उपलब्ध नगराईदिँदा यो अवस्था भएको स्वास्थ्य मन्त्रालयका सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।
कोरोना भाईरस बिरुद्धको पहिलो मात्रा खोप लगाएका नागरीकको दोस्रो मात्रा सुनिश्चित हुन नसक्दा यो अवस्था सृजना भएको हो । दास्रो खोप लगाउने समय घर्कदै छ । गोपबाट