बुटवल - मापदण्ड भन्दा बाहिरकाले कोभिड विरुद्धको खोप लगाएको भन्दै विवाद भएपछि रुपन्देहीका केही स्थानमा खोप कार्यक्रम नै स्थगित भएको छ।
जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा खोप कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्याालय रुपन्देहीले जनाएको छ ।
पालिकाबाट खटिएका स्वास्थ्यकर्मीबाट गुनासो आएपछि केही पालिकामा खोप कार्यक्रम स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘ओमसतिया र सिद्धार्थनगरबाट हिजो गुनासो आयो । मापदण्ड भन्दा बाहिरका मान्छेलाई खोप लगाउने काम भयो,’ उनले भने ‘गुनासो आएपछि हामीले स्थगित गरेका छौं। तिलोत्तमामा अपुग भयो भन्ने गुनासो आएको छ।’
प्रजिअ तामाङले मापदण्ड बाहिर गएर खोपलगाउन खटिएकाहरुलाई स्पष्टीकरण सोधिसकेको बताए।
ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको थियो । रुपन्देहीमा १४ हजार २ सय ५५ जनालाई खोप लगाउने तयारी थियो । लक्षित उमेर समूह मध्ये धेरैले लगाइसकेका छन्। प्रजिअ तामाङले बाँकी खोप पहिलो प्राथमिकता ६२ देखी ६४ वर्ष उमेर समूहकालाई लगाइने दोस्रो स्वास्थ्यकर्मीलाई दिने बताए । 'त्यसपछि जसले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी छ उसलाई आवहान गर्छौँ र बचेको खोप सरकारको निर्णय अनुसार गर्छौ,' उनले भने ।