बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरकारले तोकेको लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको भन्ने कुराको सोधीखोजी भइरहेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले खोप लगाउन खटिएका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य कार्यालयलाई स्पष्टीकरण सोधिसकिएको बताए । उनले त्यसरी खोप लगाएकाहरुको बारेमा पनि सोधनी भइरहेको लुम्बिनी टाइम्सलाई बताए । उनले भने–‘स्वास्थ्य कार्यालयलाई सोधिरहेका छौं । कस-कसले लगाए भनेर उनीहरुको पनि सोधनी भइरहेको छ ।’
त्यस्तै प्रशासनले सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर खोप लगाउने जो कोहीलाई पनि कारवाही गरिने बताएको छ । कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले गैरलक्षित समूहले खोप लगाएको पाइएमा उनीहरुलाइै ऐन बमोजिम कारवाही हुने बताए । उनले यसविषयमा थप छलफलका लागि आज दिउँसो १ बजे स्वास्थ्य कार्यालयलाई बोलाइएको जानकारी दिए ।
लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको भन्दै विवाद निस्किएपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकालगायत केही पालिकामा विवाद निस्किएपछि खोप कार्यक्रम नै स्थगित भएको थियो । त्यसअगत्तै प्रमुख जिल्ला अधिकारी तामाङले हिजो बुधबार जिल्लाका केही स्थानीय तहमा अनुगमन गरेका थिए ।
जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । देशभरका स्थानीय तहहरुसहित मंगलबारदेखि रुपन्देहीमा सुरु भएको खोप अभियानमा सरकारले तोकेको लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको कुरा सामाजिक सञ्जालमा आइरहेका थिए । उपत्यका बाहिरका जिल्लामा ६२ बर्षदेखि ६४ बर्षससम्मका बृद्धबृद्धालाई सरकारले खोप अभियानको लक्षित समूहअन्तर्गत राखेको थियो ।
ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण जिल्लामा ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।