बुटवल - समुदायमा कारोना संक्रमणको अवस्था थाहा पाउन रुपन्देहीमा केही दिन अगाडिबाट एन्टिजेन परिक्षण सुरु गरिएको छ। विभिन्न स्थानिय तहहरुले आ आफ्नो ठाउँमा निशुल्क एन्टिजेन परिक्षण सुरु गरेका छन् । तर स्थानियहरुले परिक्षण गर्नै मानेका छैनन्। जिल्लाको पश्चिममा रहेको कञ्चन गाउँपालिकाले एक हप्ता अघिबाट एन्टिजेन परिक्षण सुरु गरेको हो।
परिक्षण गर्न सुरुका दिनमा निकै कम संख्यामा मात्र आएको कञ्चनका स्वास्थ्य शाखा संयोजक रामप्रसाद गौतमले बताए। ‘सुरुमा चार पाँच जना मात्र भए, सेन्टर कायम गर्यो, पिपिइ लगाउने लगायत सबै तयारी गर्दा खर्च मात्र हुने ।’ उनले भने ‘कार्यपालिका सदस्य, नेताहरु, पत्रकार लगायत जम्मा पारेर परिक्षण गरेपछि पछिल्लो समय दैनिक १८– २० जना हुने गरेका छन्।’
आइसोलेसनमा बस्ने झन्झट र समाजले थाह पाउँछ कि भन्ने चिन्ताले मानिसहरु परिक्षण गर्न डराएका हुन्। एन्टिजेन परिक्षणको लागि कञ्चन गाउँपालिकाले २ वटा मापदण्ड तय गरेको थियो । पहिलो कोभिड सँग मिल्दो जुल्दो लक्षण देखिएका र दोस्रो कोही कोरोना संक्रमित भए उसका परिवारका सदस्यहरुको परिक्षण गर्न खोजेको थियो।
एक हप्ता अघि लक्षण देखिएपनि आफूलाई केही नभएको भनेर स्थानियहरु परिक्षण गर्न आउन मानेका थिएनन्। जनप्रतिनिधिहरुले सम्झाएपछि पछिल्लो दिनमा लक्षण देखिएकाहरुले परिक्षण गर्न आएका छन्। तर संक्रमितको सम्पर्कमा आएकाहरुले भने परिक्षण गर्नै नखोज्ने कञ्चनका स्वास्थ्य शाखा संयोजक गौतमले बताए ।‘ज्वरो आएका, रुघा खोकी लागेकाहरु परिक्षणको लागि आउने दर बढेको छ ।’ उनले भने ‘जसलाई पोजेटिभ देखिएको छ। त्यो घरकालाई पनि जाँच्न खोजेका छौं। तिनीहरु परिक्षण गर्नै मान्दैनन, कमै यहाँ आउँछन्’ लक्षण देखिएका आउन नमानेमा भने सम्बन्धित टोलमै गएर पनि परिक्षण गर्ने गरेको गौतमले बताए। कञ्चन गाउँपालिकामा एन्टिजेन परिक्षणको क्रममा हालसम्म २० प्रतिसत जतिमा पोजेटिभ देखिएको छ ।
उता शुद्धोधन गाउँपालिमा पनि स्थानियलाई परिक्षण गर्न मनाउन निकै गाह्रो भएको छ । स्थानिय सञ्चार माध्यम देखी सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्दा पनि निशुल्क परिक्षणको लागि मानिसहरु आउन नखोजेको शुद्धोधनका स्वास्थ्य शाखा संयोजक समिर भण्डारीले बताए । ‘गाउँपालिकाको फेसबुक पेजमा राख्यौं, जनप्रतिनिधि, महिला स्वास्थ्य स्यमसेवीकाहरु मार्फत पनि प्रचार प्रसार गयौं।’ उनले भने ‘मलाई केही भएको छैन भन्छन्, निकै कम मात्र आएका छन्।’
एन्टिजेन परिक्षणको लागि शुद्धोधन गाउँपालिकामा साढे ५ सय किट आएको थियो । तर मुस्किलले २ जनाको मात्र परिक्षण भएको छ । परिक्षण गरेका मध्ये निकै कम २ प्रतिसतमात्र पोजेटिभ देखिएको स्वास्थ्य संयोजक भण्डारीले बताए।
कञ्चन र शुद्धोधनमा मात्र होइन रुपन्देहीका शहरी होस या ग्रामीण क्षेत्र लक्ष्य अनुसारको परिक्षण दर निकै कम छ । रुपन्देहीमा एन्टिजेन परिक्षणको लागि स्थानिय तहहरुलाई उपलब्ध गराइएको मध्ये किट मध्ये आधा भन्दा बढी अझै खपत भएको छैन।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले पालिकाहरुलाई पर्याप्त मात्रामा किट उपलब्ध गराएपनि धेरै ठाउँमा स्थानियले परिक्षण गर्न नमानेको बताए। ‘पोजेटिभ भयो भने आइसोलेसनमा राखिदिन्छ। १०÷१२ दिन घुम्न पाइन्न भन्ने चिन्ताले परिक्षण नै गराएका छैनन्।’ उनले भने ‘संक्रमितको सम्पर्कमा आएकाको सबैको एन्टिजेन गर्न भनेर चाहिने जति किट पठाएका छौं। जति पठाएका छौं त्यसको आधाले पनि परिक्षण गराएका छैनन्।’ परिक्षण भएका मध्ये ८ प्रतिसतमा पाेजेटिभ देखिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ।