बुटवल - रुपन्देहीमा जारी निषेधाज्ञा कायम राख्ने कि खुकुलो गर्ने भन्ने निर्णय गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले विभिन्न पक्षसँग रायसुझाव लिन सुरु गरेका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएपछि बैशाख १६ गतेबाट रुपन्देहीमा निषेधाज्ञा जारी छ । दुई पटक थपिएको निषेधाज्ञा जेठ ३१ सम्म जारी छ ।
पछिल्लो समयमा कोरोना संक्रमण दर र मृत्यु दर घटेको छ । संक्रमण दर घटेपछिको अवस्थामा निषेधाज्ञाको बारेमा कस्तो निर्णय लिने भनेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विभिन्न पक्षसँग छलफल थालेका हुन्।
त्यसै क्रममा आइतबार बैंकर्सहरुसँग छलफल हुन लागेको जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए। ‘आजबाट राय सुझाब संकलन हुँदै छ। दिउसो २ बजे केही सुरक्षा प्रमुख सहित आन्तरिक छलफल हुँदै छ । चार बजे बैंकर्सहरुसँग प्रमुख जिल्ला अधिकारीले राय लिँदै हुनुहुन्छ।’ उनले भने ‘विभिन्न पक्षसँग राय सुझाव लिएर भोली डीसीसीएमसीको बैठक बस्छ ।’ आर्थिक वर्षको अन्तिम महिना(असार)मा बैंकको सेवालाई कसरी अघि बढाउने भन्ने बारेमा बैकर्शहरुसँग छलफल हुने थापाले बताए ।
विभिन्न माध्यमबाट निषेधाज्ञाको सम्बन्धमा विभिन्न सुझाब आएको प्रशासकिय अधिकृत थापाले जानकारी दिए । ‘कतिपयले संक्रमणदर कम भएको छ । अब निषेधाज्ञा खुकुलो गरौं भन्ने पनि कुरा उठको छ ।’ उनले भने ‘केही पक्षबाट निषेधाज्ञा कायमै राख्नुपर्छ, खुकुलो गर्दा फेरि पहिले जस्तो भयावह हुने बताएका छन्।’ निषेधाज्ञा कस्तो हुने भन्ने बारे सोमबार दिउसोसम्म थाहा हुने थापाले बताए।