बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा देश कै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास भएको छ । आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट रोहिणीको धकधईस्थित शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रलाई समेत सहभागिता गराउँदै महामारीको यो संकट पार गर्ने बताएका थिए । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले ओलीले दिए ।आगामी दिनमा कोभिड–१९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए ।
प्रधानमन्त्रीले शिलान्यास गरेको उक्त प्लान्टले दैनिक सात हजार वटा ठूला सिलिण्डर (६० टन) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्नेछ ।
करिब एक अर्वको लगानीमा निर्माण गर्न लागिएको उक्त अक्सिजन प्लान्टले प्रदेशको मात्र नभई देशमा भइरहेको अक्सिजनको मागलाई केही हदसम्म धान्न सक्ने प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले बताए ।
यता मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीमा अक्सिजन प्लान्टको शिलान्यास भएको जानकारी दिदैं लुम्बिनी प्रदेश अव अक्सिजन ‘सप्लाई’ गर्न सक्ने प्रदेशको रुपमा उभिन लागेको बताए । उनले भने–‘लुम्बिनी प्रदेशमा मात्रै होइन देश भर नै अक्सिजन सप्लाई गर्न सक्ने गरी अक्सिजन उद्योगको स्थापना हुन लागेको छ ।’
प्लान्ट निर्माण गर्न लागेको शंकर ग्यास उद्योगका म्यानेजिङ डाइरेक्टर शंकरलाल अग्रवालले एक बर्षभित्रै सञ्चालनमा ल्याउने गरी प्लान्ट शिलान्यास गरिएको जानकारी दिए । उनले सरकारबाट विद्युत आपूर्तीमा सहयोग पाइएमा प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने र तत्काल देखिएको मागलाई धेरै हदसम्म सम्बोधन गर्न सक्ने बताए ।