बुटवल - विभिन्न संघ संस्थाको बार्षिकोत्सव, कसैको जन्मदिन अथवा अन्य कुनै उत्सवको अवसरमा विगतमा दिनहुँ जसो खुल्ला रुपमा रक्तदान कार्यक्रम हुने गर्दथ्यो । सहज अवस्थामा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा प्रत्येक महिना ३० देखी ३५ वटा जति संघ संस्थाले रक्तदान कार्यक्रम गर्ने गर्दथे।
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा सुरु भयो । निषेधाज्ञाका कारण संघ संस्थाबाट हुने रक्तदान कार्यक्रमहरु खुल्ला रुपमा हुन पाएनन् । महामारीमा अस्पतालमा कोरोना संक्रमणको विरामीहरुको चाँप तिब्र रुपमा बृद्धि भयो । अस्पतालका शैयाहरु भरिभराउ मात्र होइन संक्रमित विरामीहरुले ठाउँ नै पाएनन् । विरामीको चाँप बढेपछि रगतको माग पनि बढ्यो ।
त्यसबाहेक अन्य विरामीहरुको लागि पनि रगतको माग आएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । ‘बुटवलमा मिर्गौलाको डाइलोसिस गर्ने विरामी धेरै छन्, रक्त अल्पताका विरामीलाई पनि रगत चाँहीने अवस्था थियो ।’ उनले भने ।
रगतको मागलाई पुरा गर्न रक्त सञ्चार केन्द्र बुटवल र रक्तदाता सम्बन्धी संस्थाहरु आ– आफ्नै ढंगले लागेका थिए। नेपाल स्यवंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा आकस्मिक रक्तदान गर्नुका साथै बाहिरी जिल्ला पुगेर पनि रक्त संकलन गरेर आएको बताए। हामी चन्द्रौटा गएर त्यहाँको सशस्त्रको क्याम्पबाट ५५ युनिट रगत ल्यायौं, परासी र अर्घाखाँची पनि पुग्यौं।’ उनले भने ‘रगत नभए बुटवल जानु भनेर हामीले अभियान नै चलाएका छौं । कोभिडको बेला अफ्ठ्यारो पर्ने हो कि भनेर अभियानलाई निरन्तरता दियौं ।’
रुपन्देहीमा दैनिक रुपन्देहीमा दैनिक ७० देखी सय युनिट रगतको माग हुने गर्दछ । चौहानले विभिन्न संघसंस्थाले गर्ने कार्यक्रम स्थगित भएपछि मागलाई व्यवस्थापन गर्न स्वयंसेवी रक्तदाताहरु लागि परेको उल्लेख गरे । ‘त्यो मागलाई व्यवस्थीत गर्न हामीले रक्तदाताहरुलाई सम्पर्कमा राखेका छौं। ५ सय भन्दा बढी आजिवन सदस्यलाई मध्ये रक्तदान गरेको ३ महिना भन्दा बढि पुगेको छ भने उहाँहरुलाई रक्तदान गराउने गरेका छौं।’ उनले भने ‘नयाँ रक्तदाताहरु पनि खोज्ने गरेका छौं ।’
स्यवंसेवी संस्था बाहेक रगतको मागलाई व्यवस्थीत गर्न रक्तसञ्चार सेवा केन्द्र बुटवल आफूले पनि पहल गर्ने गरेको छ । रगतको अभाव भएमा पहिले रक्तदान गरेका संस्थाहरुलाई सम्पर्क गर्ने गरेको रक्तसञ्चार केन्द्र बुटवलका कार्यक्रम संयोजक निरन्जन राजभण्डारीले बताए। ‘स्यवंसेवी रक्तादाताहरुले पनि सहयोग गरिरहनुभएको छ। हामीले पहिले पहिले रक्तदान गरेका संस्थाहरुलाई पनि सम्पर्क गर्छौ।’ उनले भने उहाँहरु सहज तरिकाले आउनुहुन्छ । रक्तदान गर्नुहुन्छ । मागलाई व्यवस्थित गर्ने कोशिस गरेका छौं।’