बुटवल - चौधरी फाउण्डेशनले आफ्नो लुम्बिनी प्रादेशिक कार्यालय स्थापनाको अवसरमा प्रदेशका ५ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
सोमबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीमार्फत नवलपरासी पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पताल र गुल्मीको जिल्ला अस्पताललाई दुई थानका दरले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो । डा. गिरीले यो उपकरणले अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निकै सहज हुने बताए ।
यसैबीच पाल्पाको रैनादेवी छहरा र रिब्दिकोट गाउँपालिकामा संचालित स्वास्थ्य चौकी तथा बर्दियाको बाँसगढी स्वास्थ्य चौकीलाई पनि सोही जिल्लामा कार्यक्रम गरेर २ थानका दरले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको सीजीका प्रदेश कार्यालयका प्रमुख देवराज ढुगांनाले बताए ।
कोभिड १९ महामारीका बिरामीको उपचारका लागि प्रसिद्ध व्यापारिक कम्पनी चौधरी फाउण्डेशनले यस वर्ष मुलुकभरका १७ वटा स्वास्थ्य संस्थालाई जनही २ वटाका दरले ३४ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न शुरु गरेको ढुगांनाले जानकारी दिए ।
अक्सिजन कन्सन्ट्रेटरबाट प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई हुने गर्दछ । अक्सिजन अभाव हुने र अक्सिजन दिनुपर्ने विरामीलाई तत्काल सहज रुपमा प्रदान गर्ने गरि ग्रामीण भेगका लागि यो अक्सिजन कन्सन्ट्रेटर बढी उपयागी हुने चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. पवन अग्रहरीले बताए ।
आफै अक्सिजन उत्पादन गर्ने र एकै पटक ५ जना सम्मलाई अक्सिजन दिन मिल्ने भएकाले पनि निकै भरपर्दो यन्त्र र सहज रुपमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरणका रुपमा अक्सिजन कन्सन्ट्रेटरलाई लिन गरिएको चिकित्सकहरुले औल्याएका छन्।