बुटवल : गोरखा वेलफेयर ट्रस्ट नेपालद्वारा नेपालका विभिन्न अस्पताललाई आठ करोड ८९ लाख ६२ हजार ६४० रुपियाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान भएको छ । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेको ट्रष्टले जनाएको छ ।
ट्रष्टको सहयोग अन्तर्गत प्राप्त भएको एक करोड ८३ लाख २४ हजार बराबरका स्वास्थ्य सामाग्री पश्चिम नेपालका १३ वटा अस्पताललाई प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलले जनाएको छ ।
एरिया वेलफेयर सेन्टर बुटवलले ट्रष्टबाट प्राप्त ५० लाख आठ हजार रुपियाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सोमवारमात्रै हस्तान्तरण गरेको छ ।
कोरोना नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले सोमवार जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहलाई ती स्वास्थ्य सामाग्री प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलका प्रमुख यमबहादुर रानाले जानकारी दिए ।
स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेका छन । गोरखा वेलफेयर ट्रष्टले देशका विभिन्न स्थानमा खानेपानी आयोजना, बिद्युत, स्कुल भवन, मोटरबाटो, झोलुङ्गे पुल वनाउनुका साथै र विपदका बेला विभिन्न सहयोग प्रदान गर्दै आएको छ ।
यसैगरी रुपन्देहीको रोटरी क्लव अफ सैनामैनाले सैनामैना नगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । रोटरी सैनामैनाको आर्थिक सहयोग एवम रोटरी क्लव अफ पोखराको समन्वयमा एक कार्यक्रमको आयोजना गर्दै क्लवले नगरपालिकालाई पाँचथान अक्सिजन सिलिण्डर र दुईथान अक्सिजन उत्पादन गर्ने उपकरण हस्तान्तरण गरेको हो ।
कोभिड –१९ को संक्रमण बढ्दै जाँदा नगरमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्याँस तथा सिलिण्डर अभाव भइरहेकोले उपचारमा थप सहजता पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लवले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले विपदको समयमा सहयोगका लागि क्लवलाई धन्यवाद दिइन् । उनले अहिलेको संकटको अवस्थामा स्थानीय तहलाई सहयोग गरेकोमा क्लवप्रति आभार व्यक्त गरीन् ।
क्लवका अध्यक्ष दुर्गा गौतमले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै सामाजिक संघ संस्थाहरुको तर्फबाट स्थानीय सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले आगामी दिनमा समेत क्लवले सहयोग गर्ने प्रतिबद्धता जनाए ।