भैरहवा । पछिल्लो २४ घण्टामा परिक्षण गराएका मध्ये रुपन्देहीमा साढे सात प्रतिशतमा मात्रै कोरोना पोजिटिभ पुष्टि भएको छ ।
जिल्लाभर २९१ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा २२ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो ।
पछिल्ला दुई सातादेखि जिल्लामा संक्रमित दर घट्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा लागु गरेसँगै सक्रमण नियन्त्रणमा आएको हो । संक्रमण नियन्त्रण भएकोले हिजो मंगलबारबाट स्थानीय प्रशासनले निषेधाज्ञामा केही खुकुलो गरेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १० महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । त्यस्तै २ जना संक्रमितको मृत्यु भएको छ ।
थपिनेमा बुटवलमा सबैभन्दा धेरै ५ महिला र ४ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै तिलोत्तमामा ५ जना, देवदहमा ३ जना, सैनामैनामा २ जना, सिद्धार्थनगर, गैडहवा र कंचनमा १–१ जना जना नयाँ संक्रमित थपिएका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । हाल सम्म २७ हजार ८ सय ९ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ७ सय ६० जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ सय ७४ जना मध्ये १०६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ सय ६८ जना होम आइसोलेसनमा रहेका छन् । समग्रमा संक्रमित मध्ये ९६ प्रतिशत निको भएका, २ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।