बुटवल– कोरोना भाइरस (कोभिड–१९) को आशंका हुँदैमा त्रसित नहुन चिकित्सकहरुले आग्रह गरेका छन्। नेपालमा केहीसमयअघि १ जनामा संक्रमण देखा परेकोमा उपचारबाट निको भइसकेको र त्यसयता परीक्षण गरिएका व्यक्तिहरुमा संक्रमण पुष्टि नभएकाले आशंकाको खबर सुन्नेबित्तिकै आतंकित नहुन सुझाव दिएका हुन्।
शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले बुटवलमा पत्रकारहरुसँग गरेको अन्तरक्रियाका क्रममा चिकित्सकहरुले प्रदेश ५ मा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएकाले त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरेका हुन्। उनीहरुले आतंकित हुनुको साटो सतर्क र सजग हुन आह्वान गरे।
कार्यक्रममा बोल्दै प्रदेश ५ अस्पताल विकास महाशाखा प्रमुख उमाशंकर प्रसाद चौधरीले कोरोनाको संक्रमण नदेखिएकाले आशंकाकै भरमा त्रसित नहुन आग्रह गरे।
‘हामीले प्रदेश ५ का विभिन्न सीमानाकाहरु र अस्पतालमा आएका परीक्षणहरु गर्दा अहिलेसम्म कुनै व्यक्तिमा पनि संक्रमण देखिएको छैन, उनले भने–आशंका गरेका व्यक्तिमा पनि नदेखिन सक्छ, यदि देखिइहालेमा पनि आतंकित हुनुपर्दैन, सतर्कता अपनाउने र सावधान हुने काम गर्नुपर्छ।’
उनले कोरोना भाइरस हावाको माध्यमबाट नसर्ने भएकाले सामान्य हिडडुल गर्न नै डराउन नहुने बताए। ‘यो भाइरस हावाको माध्यमबाट सर्दैन, संक्रमित व्यक्तिको थुक वा ¥यालको सम्पर्क भएमा मात्रै सर्छ, यसैले त्यति धेरै डराउनुपर्दैन, उनले भने।
नेपालमा हालसम्म देखा नपरेको कोरोना संक्रमण भइहालेमा पनि ८० प्रतिशत बिरामी सामान्य उपचारबाट नै निको हुने उनले बताए।
नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा कोरोना संक्रमण देखिएकाले थप सजग हुनुपर्ने उनको भनाई छ।
कोरोना संक्रमण भएको व्यक्ति नेपालमा प्रवेश हुन नदिन भारतीय सीमानाकासँग जोडिएका विभिन्न ठाउँहरु तथा विमास्थलहरुमा समेत स्वास्थ्य शाखा स्थापना गरी परीक्षणको काम जारी रहेको डा. चौधरीले जानकारी दिए।
प्रदेश ५ भित्र गरिएका २ हजार ८ सय जनाको स्वास्थ्य परीक्षण गर्दा कुनै पनि संक्रमित व्यक्ति फेला नपरेको चोधरीले जानकारी दिए।
प्रदेश ५ स्वास्थ्य विभाग निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले बजारमा हल्ला फैलिएजस्तो नेपालमा कोरोनाको जोखिम नभएको बताए। कोरोना भाइरस हावाको माध्यमबाट नफैलिने हुँदा सिमा क्षेत्र, विमानस्थल लगायतका ठाउँहरुमा सतर्कता अपनाए कोरोनाका संक्रमणबाट सजिलै बच्न सकिने उनले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र खनालले कोरोना भाइरसका संक्रमितहरुमा श्वासप्रश्वासमा समस्या हुने, १ सय ३ डिग्रीको उच्च ज्वरो आउने तथा सामान्य रुघाखोकीको जस्तै लक्षण देखापर्ने बताए । लामो समयसम्म त्यस्ता लक्षण देखिएमा चेकजाँच गराउन उनले सुझाव दिए।
संक्रमित व्यक्तिको उपचारका लागि ८० प्रतिशत बिरामीलाई घरमा नै राखेर सामान्य उपचारपछि निको हुने, १५ प्रतिशत बिरामीलाई अक्सिजन थेरापी गराएपछि निको हुने उनले बताए।
संक्रमित भएका ५ प्रतिशत बिरामीलाई मात्रै भेन्टिलेटर थेरापी गर्नुपर्ने हुँदा कोरोना लागेपनि आत्तिन नपर्ने उनी बताउँछन्।
प्रादेशिक अस्पतालकै कोरोना उपचार फोकल पर्शन डा. सुदर्शन थापाले हावाको माध्यमबाट रोग नफैलने हुँदा निरोगी व्यक्तिहरुले मास्क लगाउन नपर्ने बताए।
‘हाम्रो हातमा यदि किटाणुहरु छन् भने हामीले आँखा, मुख तथा नाकमा हात लैजाँदा मात्रै उनीहरु हाम्रो शरिरमा प्रवेश गर्ने हुन्–उनले भने–‘निरोगी व्यक्तिहरुले मास्क नलगाएको नै राम्रो हुन्छ, मास्क लगायौं भने बारम्बार हाम्रो हात झन बढी मुखमा जान्छ जसले गर्दा संक्रमण हुने झन बढी सम्भावना हुन्छ।’
उनका अनुसार कोरोना संक्रमणबाट बच्न सकेसम्म ठूलो भीडभाडमा नजाने, बारम्बार साबुनपानीले हात धुने, शंकास्पद स्थानमा छोएमा वा सुरक्षित रहनका लागि स्यानेटाइजरको प्रयोग गर्न सकिन्छ।