भैरहवा- रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको पहिलो लहरबाट १५७ जनाको मृत्यु भएको थियो । गत बैशाखको सुरुवातसँगै आएको दोस्रो भेरियन्टको संक्रमणबाट २ महिनाको अवधिकै ३ सय १९ जनाको मृत्यु भएको छ ।
२०७७ बैशाख १९ गते रुपन्देहीको कोटहीमाई गाँउपािलकामा पहिलो संक्रमितको रुपमा एक यूवामा संक्रमण देखिएको थियो, अहिले १४ महिनाको दौरान जिल्लामा २७ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जस मध्ये २६ हजार ९ सय ७ जना अर्थात ९६ दशमलव ६७ प्रतिशत संक्रमणबाट मुक्त भएका छन ।
यसै वर्षको बैशाख १ गतेसम्म जिल्लामा कुल ९ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ९ सातामा संक्रमण ३ गुणाले बढेको हो । स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि नै जिल्लाभर नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा जारी गरेसँगै संक्रमणदर पछिल्लो समयमा घटेको छ ।
अहिले रुपन्देहीमा ४ सय ५३ जना सक्रिय संक्रमित छन, जसमध्ये ९२ जनामा लक्षण देखिएकोले विभिन्न अस्पतालमा उपचाररत छन भने ३ सय ६१ जना होम आइशोेशनमा रहेर उपचार गराइरहेका छन । दैनिक रुपमा संक्रमितको मृत्यु भएको अपडेट लगातार २ महिनादेखि आइरहेको थियो, पछिल्लो दिनमा भने यो संख्या शुन्यमा झरेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङक अनुसार मृत्यु भएका मध्ये ५० वर्ष देखि ५४ वर्ष उमेर समूहका १४ प्रतिशत, र ७५ वर्ष माथि उमेर समूहका मात्रै १६ प्रतिशत रहेका छन । त्यस्तै ३० वर्ष देखि ४९ वर्ष उमेर समूहका साढे २८ प्रतिशत र २ प्रतिशत २९ वर्ष मुनिका संक्रमित हुन् । ‘अहिले पिसीआर गराउनेको संख्यामा कमि आएपनि संक्रमण छैन भन्न मिल्दैन, पहिला भन्दा पोजिटिभीटीको संख्यामा मात्रै केही कमि हो ।’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले भने ‘अहिले सक्रिय संक्रमितको संख्या धेरै कम भएको छ, एक प्रकारले भन्नु पर्दा संक्रमण हाम्रो नियन्त्रणमा नै रहेकोे मान्न सकिन्छ ।’
दोस्रो लहरको सुरुवातमै बैशाख ७ गते जिल्लामा ४४७ जना सक्रिय संक्रमित थिए, बैशाखको ३० गते सो संख्या उत्कर्षमा पुग्दा ७ हजार ४ सय ७० जना पुगेका थिए तर सो क्रम निरन्तर घट्दै जादा अहिले ५ सय भन्दा पनि कममा झरेको हो । ‘जारी निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रीत गर्न सकेका हौ ।’ गिरिले भने ।
स्थानीय प्रशासनले लकडाउनलाई व्यवस्थित गर्न नसके फेरी जोखिममा पुग्न समय नलाग्ने उनको भनाइ छ । ‘तर पनि पहिला भन्दा अहिले दोस्रो लहरले सचेतना धेरै बढेको पाएका छौ ।’ गिरिले भने । संक्रमण नियन्त्रण गरेपनि हेल्चेक्रयाई भने नगर्न गिरीले सबैमा आग्रह गरेका छन ।