काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१ जनाको ज्यान गएको छ भने , अहिले सम्म ८ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४२ जना नयाँ सङक्रमित थपिएका छन् । १० हजार ९ सय ५६ जनामा पीसीआर र एन्टिजेन परिक्षण गरिएको थियो । आजका नयाँ संक्रमित सहित सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजार १६२ पुगेको छ ।
पीसीआर विधिबाट ६ हजार ६ सय ७७ र एन्टिजेन विधिबाट ४ हजार २ सय ४९ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्र ५ सय ४८ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै संक्रमण थपिने दर कर्णाली प्रदेशमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले बताए । कर्णाली प्रदेशमा ७ सय ३७ जनामा गरिएको परीक्षणमा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै ३ हजार ४ सय ५६ जना संक्रमण मुक्त भएका छन् ।
अहिलेसम्म देशभर ३४ लाख ११ हजार ८ सय २८ जना कोरोना परीक्षण गरिसकिएको छ । जसमा ६ लाख ४७ हजार ६ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।