बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पतालको अन्तरङ्ग फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालमा यसअघि रहेका दुई वटा फार्मेसीसँगै सोमबारदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुआत भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सुर्यबहादुर भट्टराईले एक कार्यक्रमका बीच फार्मेसीको उद्घाटन गर्दैअब विरामीलाई निजी औषधी पसलमा गएर महंगोमा औषधी किन्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए ।
अस्पतालका मेसु डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए । उनले विमा कार्यक्रम र फार्मेसीको सञ्चालनमा ध्यान दिएको बताए ।
लुम्बिनी प्रदेशिक अस्पतालमा फार्मेसी अधिकृत पदम खनालले अस्पतालभित्र फार्मेसी सञ्चालन भएपछि औषधी खरिदका लागि बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए । उनले सस्तो मुल्यमा औषधी पाउने दावी समेत गरे ।
फार्मेसीमा विभागमा हाल २५ जना कर्मचारी रहेका छन् । अस्पताल भित्र फार्मेसी २४ सै घण्टा खुल्ने छ ।
प्रदेश सरकारको गौरवको आयोजना राखेको लुम्बिनी प्रादेशिक अस्पतालले अहिले विभिन्न भौतिक पुर्वधारको विकाससँगसँगै सेवामा पनि विस्तार गरेको छ । यहाँ लुम्बिनी प्रदेशका अधिकांश जिल्लाबाट बिरामीहरु उपचारको लागि आउने गर्दछन् । दैनिक २ हजारभन्दा धेरै विरामीले सेवा पाउने गरेको अस्पतालले जनाएको छ ।