कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ।
खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ। खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ।
अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत सोमबार स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिइने सरकारी अधिकारीले बताएका छन् ।
अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको समाचार संस्था एपीले उल्लेख गरेको छ । सियाटलमा रहेको वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण हुनेछ ।
कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन् । खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन् ।
बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन् । परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ ।
खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ । खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ ।
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ। परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम mRNA-1273 राखिएको छ।