बुटवल- टाउको दुखेर उपचार गर्न आएकी बिरामीको मृत्यु भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा तनाव उत्पन्न भएको छ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टर बीच झडप हुदा मेडिकल कलेजमा तनाव उत्पन्न भएको हो। नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात गरेको अस्पतालले जनाएको छ। मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेण्ट(जेआर) डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए। हातपातपछि डाक्टर घिमिरे सामान्य घाईते भएका छन्।
हातपातपछि डाक्टरहरुको टीमले पनि बिरामीका आफन्तमाथि कुटपिट गर्दै अस्पताल गेटबाट बाहिर निकालेको मृतकका आफन्त कर्णबहादुर गुरुङले बताए।
उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाण्डौ जानका लागि रिफर माग्दा अस्पतालले रिफर नदिएर लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाए।
उनले दिदीको उपचार भईरहेको र सन्चो हुन्छ भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए। अस्पताल प्रशाशनले भने डाक्टरको लापरबाहीले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाहा पाएपछि आफन्तले केही समय आन्दोलन गरेका थिए।
पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ। उपचारमा संलग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि सुरक्षा र कार्वाहीको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
डाक्टरहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा ठप्प भएको छ। ओपिडीमा टिकट लिएर बसेका बिरामीहरु डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन्।
मेडिकल कलेजमा कार्यरत विशेषज्ञ डाक्टर जुनियर रेजिडेड डाक्टर तथा बिद्यार्थीहरु डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गएका छन्।