बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना निर्माण भएको छ। प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर प्रदेश ५ सरकारलाई बुझाएको छ।
प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा इश्वर गौतमले मुख्यमन्त्री शंकर पोखरेललाई गुरुयोजना हस्तान्तरण गरे।
गुरुयोजनाको फाइल ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालका रुपमा निर्माण गर्ने बताए। उनले संघ र प्रदेश सरकारको बजेट तथा निजी क्षेत्रको समेत आर्थिक सहभागितामा निर्माणका लागि रकम जुटाउने बताए। उनले डीपीआर तयार भएसँगै भवन निर्माणको काम शुरु हुने बताए।
छलफलका क्रममा आर्किटेक इन्जिनियर विष्णु पन्थीले गुरुयोजना प्रस्तुत गर्दै अस्पतालको डिजाइन अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए। गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा आधुनिक भवनबाट दिन सकिनेछ। १० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ।
भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ। पन्थीले सबै वार्डहरुलाई अन्तरराष्ट्रिय शैली र मापदण्डअनुसार बनाएकाले जुनसुकै सरुवा रोगका बिरामीको उपचारमा पनि समस्या उत्पन्न नहुने बताए।
उनले गुरुयोजना अनुसार अस्पताल निर्माण भए नेपालकै नमूना अस्पताल बन्ने बताए। अस्पतालको गुरुयोजनामा सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ।
गुरुयोजनाअनुसार अस्पतालको संरचनाका लागि १४ अर्बको लागत अनुमान गरिएको छ। जसअनुसार मुख्य भवन १० तलाको हुनेछ । जसमा १२ सय शैया हुनेछन्। अहिले अस्पतालको नजिक रहेको वनको जग्गामा क्वाटर, अस्पतालको छतमा हेलिप्याड समेत हुने भएको छ।