चीनको वुहानमा शहरबाट शुरु भएको कोरोना भाइरसको आतंक अहिले विश्वभरि आँधीतुफानझैं फैलिएको छ। कोरोनाको डरले एशिया, युरोप तथा अमेरिका कतिपय स्कुलकलेज, यातयात, हवाइसेवा तथा सार्वजनिक ठाउँहरु बन्द भएका छन्। एक प्रकारले अहिले विश्व ठप्प छ। विश्व अर्थतन्त्र अस्तव्यस्त भएको छ। डर त्रास माहोल फैलिएको छ। जताततै कोरोनाकै चर्चा परिचर्चा छ।
अहिले विश्व राजनीति नै ओझेल पारेको छ। मिडिया र समाजिक संजालहरुमा आएका कोरोना भाइरसका अनेक थ्योरी तथा अड्कलबाजीहरुका कारण नेपाली जनमानसमा पनि उत्तिकै डर तथा त्रास बढेको छ।
तर नेपाल सरकार तथा सम्बन्धित निकायले जनमानसमा फैलिएको डरत्रास न्यूनीकरण गर्न कुनै ठोस कार्यक्रम ल्याएको छैन। जनमानसमा कोरोनाको डर यति बढेको छ कि अस्ति एक जना परिचित शिक्षकले एक जना चाइनिज जस्तो देखिने मानिस नजिकै भेटिएपछि कोरोना सर्यो कि भन्ने त्रासले अस्पताल पुगेका थिए।
हो, कोरोना आदि जस्ता भाइरसहरुको महामारीप्रति सचेत हुनु राम्रो कुरा हो। तर यतिविधि त्राहीमाम हुनु ठीक होइन, यसले अनेक मनोवैज्ञानिक समस्याहरु पैदा गर्न सक्दछ। डर र त्रासले मानिसको शरीरमा कुप्रभाव पार्दछ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ।
हरेक वर्ष विश्वमा दसौं लाख मानिसहरु फ्लुका कारण मर्ने गर्छन्। सबैले बुझ्न पर्ने कुरा के हो भने यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन्।
ती मध्य २१९ प्रकारका भाइरसको पहिचान भएको छ। यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन्।
मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटि) का कारण नै मानिस यस्ता भाइरसको बिचमा पनि बाँचेको छ। त्यसैले महत्वपुर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटी हो। मानिसको इम्युनिटी शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन्।
कोरोना भाइरस के हो ?
नोभल कोरोना भाइरस कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। यस भाइरस चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको हो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड १९) नामाकरण गरिएको छ। कोभिड १९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो, जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।
कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। तर, यसले मानिसलाई निकै घातक अवस्थामा पु¥याउँछ र यसबाट मानिसको ज्यान पनि जानसक्छ। यो भाइरस चिसोको कारण लाग्दछ। यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ। तर, सबै कोरोना भाइरस खतरनाक हुँदैनन्।
सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो । सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो।
यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो। अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो।
कोरोना भाइरसका लक्षणः
कोरोना भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यस भाइरसको लक्षण हो। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ।
अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।
कोभिड १९ का लक्षणहरु ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिने हुनाले कोभिड १९ को संक्रमण भएको हो वा होईन भनेर निक्र्योल गर्नकालागि स्वास्थ्य परिक्षण नै गर्नुपर्ने हुन्छ।
कोभिड १९ कसरी फैलिन्छ?
कोरोना संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सुक्ष्म थोपाहरूबाट तथा भाइरसबाट संक्रमित वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ। कुनै पनि स्थान तथा बस्तुहरुमा कैयौं घण्टासम्म कोरोना भाइरस जिवित रहन सक्दछ। तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ। जस्तो कि कोरोना भाइरसले संक्रमित कुनै बस्तु छोइयो भने राम्रोसँग साबुनपानीले हात धुने हो भने भाइरस मर्छ। यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्न सक्ने भएता पनि हालसम्म बालबालिकाहरूमा कोभिड १९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाइएको छ। हालसम्म कोभिड १९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।
कोरोनाबाट बच्ने उपाय
कोरोना भाइरसको संक्रमणबाट बच्न सबै भन्दा पहिला सरसफाइमा ध्यान दिनुपर्छ। यस भाइरस शरीरमा प्रवेश गर्ने भनेको नाक, मुख, कान तथा आँखाबाट हो। त्यसैले शरीर सफा राख्ने तथा राम्रोसँग साबुन पानीले हात धुने बानी बसाल्ने।
हात धुदा बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।
यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने। रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्ने। आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिने।
अर्को महत्वपुर्ण कुरा रोग प्रतिरोधक क्षमता बढाउने खालको जीवनशैली अपनाउने। फास्टफुड, जंकफुड तथा बजारिया खानेकुरा होइन कि प्राकृतिक वनस्पतिजन्य खानेकुरा, व्यायाम, सँर्य स्नान, उपवास तथा तनावरहित सकारात्मक सोचबाट नै मानिसको इम्युनिटि शक्तिशाली हुन्छ।
हो, अमृता (गिलोय) संसारको नं. एक इम्युनिटि बुष्टर हो। तुलसीको पातको रस पनि इम्युनिटि बुष्टर हो। इम्युनिटि बुष्ट गर्न २ चम्चा अमृताको रस र एक चम्चा तुलसीको पातको रस मह मिलाएर चाट्ने वा एक गिलास पानीमा मिसाएर खाने। लहसुन, अदुवा र प्याजको रस एक चम्चा एक गिलास तातो पानीमा घोलेर बिस्तारै बिस्तारै चियाझैँ पिउने हो भने शरीरमा प्रवेश गरेका भाइरस मर्ने कतिपय आयुर्वेद विशेषज्ञको दाबी छ। कारोना भाइरस २७ डिग्री भन्दा माथिको तापक्रममा बाँच्न नसक्ने हुनाले तातो पानीको सेवन पनि उत्तिकै राम्रो हुन्छ।
एक होमियोप्याथी औषधि छ, आर्सेनिक एल्बम ३०। यसको लक्षण सँग कोभिड १९ मिल्दोजुल्दो छ। यस औषधि कोभिड १९ को रोकथाम र उपचारमा निकै प्रभावकारी रहने दावी भारतका होमियोप्याथी विशेषज्ञहरुको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आर्सेनिक एल्बम ३० को दुईदुई थोपा वा ४, ४ गोली दिनको एक पटक तीन दिनसम्म सेवन गर्नु पर्दछ। तर यस सम्बन्धमा कुनै वैज्ञानिक प्रमाण भने छैन। तर होमियोप्याथी औषधिले सुक्ष्मस्तरमा काम गर्ने कुरा चाही सत्य हो।
मास्क आवश्यक छैन
अहिले नेपाली बजारमा पनि मास्क तथा सेनिटाइजरको हाहाकार छ। तर कोरोनाको संक्रमणबाट मास्क तथा सेनिटाइजरको कुनै आवश्यकता छैन। यदि श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने मात्र आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्ने हो अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन।
मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ।
मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ, जस्तै नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्यु र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने। हात धुनका लागि साबुनपानी वा हेण्डवास प्रयोग गर्ने।
अन्तमाः
अहिले कोरोनाले संसारलाई आतंकित बनाएको छ। हेर्दाहेर्दै कोरोना भाइरसको संक्रमणले नयाँ रोग कोभिड १९ जन्माएको छ। यस रोगका सम्बन्धमा अनेक थरिको थ्योरी तथा अडकलबाजीहरु भइरहेका छन्। कसैले कोरोना चीनले बनाएको जैविक हतियार हो भन्दै छन् त कसैले अमेरिका चाल हो भन्दै छन्। कसैले अमेरिका र चीनको मिलिभगत भन्दै छन्।
कोरोना भाइरस जनावारबाट फैलिएको होस् वा ल्याबमा बनाइएको होस्। कोरोना भाइरस जसरी फैलिएता पनि कोभिड १९ जन्माउनमा विश्वका मेडिकल माफियाको ठँलो हात छ।
त्यसैले त कोभिड १९ को नाममा संसारलाई डर र त्रास देखाएर लुट्न मेडिकल माफिया लागिसकेका छन् । अब छिट्टै कोभिड १९ को खोप तथा औषधिहरु बजारमा आउने छ । त्यसैले सचेत होऔं । तर कोरानासँग नडराऔं । चिन्ता, डर तथा त्रासलाई कोरोनाले मात्र होइन, हरेक रोगले हेप्छ ।
(लेखक मनोविद् हुन् ।)