काठमाडौँ : अस्वस्थ जीवनशैलीले मृगौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मृगौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए ।
केन्द्रमा हाल दैनिक २५० मृगौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मृगौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।
नेपालमा हाल तीन लाख मानिस मृगौला बिगारेर हिँड्ने गरको र तीन हजारको मृगौला फेल भएको केन्द्रले जनाएको छ । मृगौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा काफ्लेले जोड दिए ।
“मृगौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मृगौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन , दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस, दिनमा १० हजार पाइला हिँड्नुस, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मृगौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मृगौला रोगबाट बच्न सकिन्छ”, उनले भने ।
स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मृगौला रोगबाट बच्न सकिन्छ । पिसाबबाट प्रोटिन गएको छ भने मृगौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मृगौला बचाऔँ अभियानलाई रु एक दान गर्न डा काफ्लेले आह्वान गरे ।
हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मृगौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७०० लाई मृगौला रोग भेटिएको केन्द्रको अभिलेख छ । रासस