बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज बुधबार सडकमा कोरोना परिक्षण गरेको छ । मणिग्राममा सञ्चालन गरिएको ‘सडक एन्टिजेन टेस्ट’ कार्यक्रममा एक सय १४ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
परिक्षण गरिएका मध्ये ७ जना महिला र ६ जना पुरुष गरी १३ जनामा पोजिटिभ देखिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
सडकमा सवारी चालक, सहचालक, यात्रु, रिक्साचालक तथा विद्यार्थीहरुमा एन्टिजेन परिक्षण गरिएको थियो । नगरपालिकाले असार १८ गते योगिकुटी र १९ गते कोटिहवामा पनि सडक एन्टिजेन टेस्ट कार्यक्रम सञ्चालन गर्नेछ ।
नगरप्रमुख वासुदेव घिमिरेले आज एन्टिजेन परिक्षण गर्दा ११.४ प्रतिशतमा कोरोना पुष्टि भएकाले अझैं जोखिम नहटिसकेको बताए । उनले भने–‘विहानको प्रारम्भिक नतिजा राम्रो देखिएन । सचेत बनौं ।’
महामारी केही मथ्थर भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पारेको छ । तर, सडकमा परिक्षण गर्दा संक्रमण दर अझैं नघटेको देखिएकाले सुरक्षा अपनाउन पर्ने तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ ।