काठमाडौं-विश्वभर फैलिएको कारोना भाइरस (कोभिड–१९) गौमुत्र सेवनले नलाग्ने भन्दै छिमेकी देश भारतमा अभियान नै चलाइयो। भारतीय जनता पार्टीका सांसदहरू नै यो अभियानमा लागे।
तर, बीबीसी हिन्दीले गरेको ‘फ्याक्ट चेक’ले भने गौमुत्र सेवनले कोरोना नलाग्ने भनि गरिएको प्रचारमा कुनै सत्यता नरहेको पुष्टी गरेको छ। भारतमा कोरोना मात्रै होइन, धेरै रोगको उपचारका लागि गौमुत्र र गाईको गोबरको प्रयोग गर्न सल्लाह दिने गरिएको छ।
भारतीय जनता पार्टीकी सांसद सुमन हरिप्रियाले कोरोना भाइरसको उपचारका लागि गौमुत्र उपयोगी हुने सुझाव दिएकी थिइन्। उनले भनेकी छन्, ‘गाईको गोबरबाट धेरै फाइदा हुन्छ। मलाई लाग्छ की यसले कोरोना भाइरस समाप्त गर्छ। गौमुत्रले यसलाई रोक्न सहयोग गर्छ।’
गौमुत्रमा सम्भावित एन्टि–ब्याक्टेरियल गुणलाई लिएर पहिले पनि धेरै पटक अध्ययन भइसकेका छन्। कोरोना भाइरसविरुद्ध गौमुत्रको प्रयोगलाई बढवा दिनका लागि हिन्दु राष्ट्रवादी समूहले भारतको राजधानी दिल्लीमा गौमुत्र पिउने कार्यक्रमको आयोजना समेत गरेको थियो।
तर, इन्डियन वायोलोजिकल सोसाइटीका डा. शैलेन्द्र सक्सेनाले बीबीसीसँग भनेका छन्, ‘यस्तो कुनै मेडिकल सबुत छैन, जसले गौमुत्रमा एन्टी–भाइरल गुण भएको पुष्टी होस्। यस्तै गाईको गोबरको प्रयोगले समेत उल्टो नतिजा दिन स्क्छ। किनकी यसले कोरोना भाइरस मानिसमा सर्नसक्छ।’
अल्कोहल–फ्री स्यानिटाइजर !
सन् २०१८ बाट काउप्याथी गाईको गोबरबाट बनेको साबुनका साथै अल्कोहल–फ्री ह्यान्ड स्यानिटाइजर अनलाइनमा विक्रिवितरण भइरहेको छ, जसमा गौमुत्र मिसाइएको छ। अहिले अनलाइनमा यसलाई आउट अफ स्टक देखाउँछ।
कम्पनीका अनुसार माग बढेका कारण आपूर्ति गर्न सकिएको छैन। यस्तै बाबा रामदेवले एक हिन्दी न्यूज च्यानलमा घरमै हर्वल ह्यान्ड स्यानिटाइजर बनाउन सल्लाह दिएका छन्। उनले आयुर्वेदिक जडिबुटी, बेसार र तुलसीको पातको सेवनले समेत कोरोना भाइरसको रोकथाम गर्न सकिने बताएका छन्।
तर, विश्वस्वास्थ संगठन र अमेरिकाका सिसिन्ज कन्ट्रोल एन्ड प्रिवेन्सन (सिडिसी)का अनुसार अल्कोहलयुक्त ह्यान्ड स्टानिटाइजरको प्रयोग गर्नुपर्छ।
यस्तै लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा प्रोफेसर सेली ब्लोमफिल्डका अनुसार घरमै बनाएको स्यानिटाइजर समेत प्रभावकारी हुँदैन।