बुटवल-बुटवलमा कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण कार्य तीब्र पारिएको छ।
बुटवल उप-महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल -१० स्थित बन्द रहेको बुटवल धागो कारखानाको भवनमा अस्पताल निर्माण कार्य चलिरहेको छ। निर्माण स्थलमा प्रमुख शिवराज सुवेदीको पहल र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइसहित प्राविधिक, विशेषज्ञको टोलीले शुक्रबार बिहानैदेखि उक्त स्थलमा खटिएको छ।
बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेशनका लागि धागो कारखानामा करिब १०० बेडको अस्पताल तयार पार्न लागिएको छ।
प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीब्र पारिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
बुटवल उपमहानगरले यहाँका सामुदायिक र निजी अस्पतालका सञ्चालकलाई बोलाएर आपतकालीन अबस्थालाई मध्यनजर गर्दै तम्तयार रहन आग्रह गरेको थियो। लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको मापदण्डअनुसार तयार पारेर फिनिसिङ्ग गर्ने काम भइरहेको प्रमुख सुवेदीले बताए।
पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आईसोलेशन कक्ष निर्माण गर्ने काम चलिरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए।
अहिले आईसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउनेतर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका फोकलपर्शन र विशेषज्ञलाईसमेत निरीक्षण गराएर आइसोलेशन तयार पार्न लागिएको बताए। अस्पतालका बेडका अतिरिक्त उपमहानगरले बनाउन लागेको अर्को अलग्गै र अस्थायी अस्पताल हो। बुटवलमा हाल आइशोलेशनका लागि ३४ बेड तयारी अवस्थामा रहेको प्रदेशका स्वास्थ निर्देशक डाक्टर विनोद गिरीले बताए।