काठमाडौं : नेपालमा नेपालमा २२ जनामा (म्युकर माइकोसिस) कालोढुसी सङ्क्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका बिरामीहरुमा मात्र यो संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा.राजेन्द्र प्रधानाङ्गले जानकारी दिए ।
डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उनले बताए ।
शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उनको भनाइ छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उनले भने ।कालो ढुसीको सङ्क्रमण भएको शङ्का लागेपछि नै अस्पतालमा जानुपर्ने उनले बताए ।
एम्फोटेरिसिन बी औषधिको अभाव
कालो ढुसीका बिरामीका लागि दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव रहेको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरिँदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरिँदै आइएको थियो ।
एम्फोटेरिसिन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरिएको डा. प्रधानाङ्गले बताए ।
कालोढुसीको सङ्क्रमण भएकालाई प्रयोग गरिँदै आएको कालाजारको एम्फोटेरिसिन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीले बताए ।