बुटवल -आजबाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ। गत जेठ २५ गतेबाट २८ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन थालेका हुन्। ६२ वर्षदेखी ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले पहिलो डोजको खोप लगाएका थिए ।
चिनबाट आएको भेरोसेल खोप पहिलो डोज लगाएको तिन हप्ता नाघेपछि लगाउनुपर्ने हुन्छ। रुपन्देहीमा झण्डै १४ हजार जनालाई दोस्रो डोजको खोप लगाइँदै छ । आज र भोली जिल्लाको ११ वटा स्थानिय तहमा खोप लगाइँदै छ । बाँकी ५ वटा पालिकामा असार २५ र २६ गते खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।
खोपको लागि बुटवल उपमहानगरपालिकामा ८ वटा केन्द्र तोकिएको छ। केन्द्रमा पुगेर विहान १० बजेबाट दिउसो ४ बजेसम्म खोप लगाउन सकिने बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले बताए । खोप केन्द्रमा आउँदा पहिलो डोजको खोप लगाएको कागज ल्याउन पनि उनले आग्रह गरे ।