भैरहवा- भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पताल थप सेवा सुविधा सहित आफ्नै भवनबाट सेवा सुरु गरेको छ । २०६८ साल देखि लुम्बिनी रोडमा अवस्थित हस्पिटलले १५ वेडबाट ५० वेडमा स्तरोन्नती गर्दै ५५ हजार वर्ग फिटको ६ तल्ले भवनबाट सेवा सञ्चालनमा ल्याएको हो । ७० करोड बढि लागतमा नेपाल सरकारको स्वास्थ्य मापदण्डअनुसार अन्तराष्ट्रिय मापदण्डमा निर्मित भवनमा विरामीहरुको सेवाका लागि र्याम तथा लिफ्टको पनि व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए ।
अस्पतालको गुणस्तरीय सेवालाई मध्यनजर गर्दै ग्राण्डी तथा मेडिसिटी अस्पतालमा लामो अनुभव भएका चिकित्सकहरुको सेवा, रोग पहिचान तथा उपचारका लागि अत्याधुनिक प्रविधि तथा उपकरणहरु सिटी स्कयान, अत्याधुनिक अपरेशन उपकरण, आईसियु, भेन्टिलेटर, अटोमेटिक एनालाइटर जस्ता उपकरण जडान गरिएको निर्देशक पौडेलले बताए ।
दैनिक ओपिडी सहित, हाडजोर्नी तथा मेरुदण्ड, दुरविनबाट अपरेशन, डायलसिस, आइसियु, सिसियु, छाला सम्बन्धी लेजर सर्जरी तथा कपाल प्रत्यारोपण लगायतका मुख्य सेवाहरु सुचारु भएको अस्पतालका निर्देशक अमित चतुर्वेदीले जानकारी दिए ।
३ वटा अब्जरभेसन वेड र भर्ना भई बस्नका २ वटा स्वीट केभिन सहित अन्तरष्ट्रिय युनिट, ३ वटा मोडुलर अत्याधुनिक अपरेशन थिएटर र अस्पतालद्वारा कागजरहित डिजीटल सेवा प्रदान गर्न प्रविधि जडान गरिएको निर्देशक चतुर्वेदीले बताए।
अस्पताले हालै मात्र कपाल प्रत्यारोपण सेवा, भैरहवा बुटवल क्षेत्रकै उत्कृष्ट ६४ स्लाइस सिटी स्क्यान मेसिनबाट सेवा संचालमा ल्याएको छ भने निःसन्तान दम्पत्तीहरुको लागि कृत्रिम गर्भाधान सेवा सुचारुको तरखरमा अस्पताल रहेको अध्यक्ष डा. सुवोध पाण्डेले बताए ।
मुटुका बिरामीहरुलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेसिनद्वारा इको, टीएमटी, हल्टर मोडुलर सीसीयु त्यस्तै मोडुलर ओ.टी मा न्युरो, हाड जोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण अपरेशन, मोडुलर आई.सी.यु जर्मनमा निर्मित स्तरीय भेन्टिलेटर तथा मोनिटर, वातानुकुलीत सुविधा सम्पन्न क्याविनहरु समेत रहेको अध्यक्ष पाण्डेले बताए ।
हामीले विशेष सहुलियतका साथ यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्दै रिफर नहुने गरी काम गरेका छौ, हाम्रो प्रयास कसैलाई रिफर गर्नु भन्दा पनि सेवामा कुनै पनि प्रकारको सम्झौता हुन नदिनु हो । उनले भने ट्रमा सेन्टर सहितको सुविधा रहने यस अस्पतालमा हाल १२५ जनाले रोजगारी पाएका छन भने अस्पताल फुलफेजमा संचालनमा आएसँगै २ सय बढिले रोजगारी पाउने छन । हामी अबको २–३ महिनामा पूर्ण रुपमा सबै सेवाहरु सुचारु गर्छौ ।