काठमाडौँ–नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एकजना १९ वर्षे युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
फ्रान्सबाट कतार हुँदै नेपाल आएका ती व्यक्तिको टेकु अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको मन्त्री ढकालले बताए।
उनी चैत ४ गते कतारबाट नेपाल आएकी थिइन्। यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।