बुटवल-पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै बढेको लापरबाहीले रुपन्देहीमा कोरोना संक्रमण दर पनि बढाएको छ।
बितेका केही साता संक्रमणदर स्थीर रहेर ओरालो लाग्न थालेकै समयमा निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमणदर अरु बढेको हो।
संक्रमण परीक्षण गराउने र संक्रमण पुष्टि भएर अस्पताल हुनेको संख्या बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या बढेको बताए।
बिहीबार दिउसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २१ जना बिरामी भर्ना भएका छन्। कोभिडका मात्रै ४७ जना बिरामी अस्पतालमा उपचाररत छन्।
‘केही दिन अघि ५-७ जना मात्र थिए। अहिले २१ जना पुगे। इमरजेन्सीमा यसरी बढ्नु भनेको संक्रमण फेरि फैलिएको संकेत हो’ डा. पाठकले भने। कोभिडका लागि अस्पतालले २१ वटा बेड छुट्याएको छ।
यस्तै अस्पतालमा बिहीबारसम्म आइसियुमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी छन्। उनले बिरामी थपिने दर बढेकाले अरु थप बेडमा भर्ना गर्नुपर्ने अवस्था आएको बताए।
उनका अनुसार अधिकांश संक्रमितहरु पसलका व्यापारीहरु छन्। निषेधाज्ञा खुकुलो भएर बजार खुल्दा व्यापारी र उपभोक्ताबीच आपसमा संक्रमण फैलिएको हुनसक्ने डा. पाठकको भनाई छ।
‘जो जसले पसल खोल्नुभएको छ, उहाँहरुमा अहिले कोभिड देखिइरहेको छ, चैत्रमा दोस्रो लहरको सुरुवातमा पनि व्यापारीहरुमा कोभिड संक्रमणदर बढी देखिएको थियो’-उनले भने-‘पसलहरुको माध्यमबाट उनीहरुको परिवार र ग्राहकहरुमा फैलिदै छ, फेरि पहिलेकै अवस्थामा फैलिने हो कि भन्ने संकेत देखिएको छ।’
डा.पाठकले फेरि संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सचेत हुन आवश्यक रहेको उल्लेख गरे। उनले आवश्यक सावधानी र सतर्कता नअपनाएमा अवस्था जटिलतातर्फ जाने संकेत गरे।