वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ ।
हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।
ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।
उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गाैलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ । वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको छ । अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ ।
अग्नि सुुरक्षा सामग्री उपलब्ध
उपमहानगरपालिकाअन्तर्गत बारुणयन्त्रमा कार्यरत कर्मचारीलाई अग्नि सुरक्षा सामग्री उपलब्ध गराइएको छ । रु साढे तीन लाख मूल्य पर्ने अग्नि सुरक्षाका सामग्री बारुणयन्त्रका कर्मचारीलाई उपलब्ध गराइएको हो ।
ती सामग्री लगाएर आगो लागेको स्थानमै गएर आगलागीमा परेकालाई उद्धार गर्न सहज हुनेछ । हाल उपमहानगरपालिकासँग दुई बारुणयन्त्र रहेका छन् । रासस