काठमाडौँ - अमेरिकी सरकारले दिएको कोरोनाभाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप काठमाडौँ आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको उक्त खोप आज विहान आइपुगेको हो। अमेरिकी राजदूत र्यान्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको जनाएको छ । अमेरिकी सरकारले दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने भन्दै मन्त्री श्रेष्ठले प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको जानकारी दिए ।