काठमाडौँः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकेको छ। प्रदेशमा एकदेखि तीन जनासम्म विज्ञ तोकिएका छन्। प्रदेश १ मा आइतबारदेखि नै परीक्षण सुरु भइसकेको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण सेवा सुरु गरेको छ।
बागमती प्रदेशले हेटौडामा आजदेखि परीक्षण सुरु गर्दैछ। जसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई विशेषज्ञ खटाएको छ। जसमा विष्णु उपाध्याय र निर्मल आचार्य रहेका छन्।
यस्तै प्रदेश २ को राजधानी जनकपुरका लागि तीन विज्ञ खटाइएका छन्। प्रदेश २ मा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेना रहेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गण्डकी प्रदेशमा पनि तीन जना विशेषज्ञ खटाइएका छन्। गण्डकीमा बलराम गौतम, श्रीराम बास्तोला र रोजी पाण्डे रहेका छन्।
यस्तै, प्रदेश ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्की रहेका छन्।
प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माण गर्ने तयारी भइरहेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले प्रयोगशालाका लागि आवश्यक स्थल तयार भइसकेको बताए।
'गहुँबाली अनुसन्धान केन्द्रमा उपकरण राखेर काम गर्ने गरी हामीले सबै तयारी गरेका छौं-उनले भने-यो उपकरण एकदमै नयाँ भएकाले त्यसको साइज र कस्तो ठाउँ आवश्यक पर्छ भन्ने इन्जिनियरले नै तय गरेपछि सेटअप गर्छौं।'
उनले उपकरण काठमाडौबाट आउनेबित्तिकै सेट गर्ने बताए। उनले अबको ४ दिनभित्र प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने बताए। रियल टाइम पीसीआर मेसिन लगायत उपकरण जडान गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने गिरीले बताए ।
कर्णाली प्रदेशको सुर्खेत र नेपालगन्जमा परीक्षण गर्नेगरी डा. महेन्द्रप्रसाद भट्ट र रामकृष्ण श्रेष्ठलाई विशेषज्ञ तोकिएको छ। यस्तै सुदूरपश्चिम अन्तर्गत धनगढीका लागि सुनीलप्रसाद लेखक रहेका छन्।
सरकारले सातै प्रदेशमा कोरोना परीक्षण गर्नेगरी प्रक्रिया अघि बढाएको छ। मोबाइल ल्याबमा माध्यमबाट परीक्षण अघि बढाउने तयारी थालिएको हो। उपत्यकाबाहिर पहिलोपटक आइतबारदेखि धरानमा परीक्षण सुरु भएको हो। सोमबारदेखि हेटौँडामा पनि परीक्षण सुरु हुँदैछ।
चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण सुरु गर्ने तयारी सरकारले थालेको हो।