बुटवल । आइतबार र सोमबार कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशभर कसैको मृत्यु भएको छैन । चैत्रमा दोस्रो लहर शुरु भएयता प्रदेशमा संक्रमितको दैनिक मृत्युदर पहिलाे पटक सुन्यमा झरेकाे प्रदेश स्वास्थ्य निर्देशनालय तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताए।
कोरोना संक्रमणदर तिब्र भएको बेला बैशाखको अन्तिम साता मृत्युदर निकै उच्च थियो । त्यसबेला लुम्बिनी प्रदेशमा दैनिक ५० को आसपासमा संक्रमितको मृत्यु हुने गरेको थियो । जेठको पहिलो सातादेखि मृत्युदर केही घट्न थालेको थियो ।
असार लागेपछि दैनिक मृत्युदर १० वा त्यो भन्दा कम छ । असार ७ गते १० जना र १४ गते ९ संक्रमितको मृत्यु भएको थियो । बाँकी दिनमा ५ भन्दा कम नै रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा हालसम्म २ हजार ४५ जनाको मृत्यु भइसकेको छ । जसमा १ हजार ७ सय पीसीआरबाट पुष्टि भएका हुन् भने ३ सय ४५ जना एन्टिजेन परिक्षणबाट पोजेटिभ आएको थियो ।
दोस्रो लहरमा रुपन्देही सबैभन्दा बढि प्रभावित जिल्ला बनेको थियो । बैशाख ३० गते मात्र रुपन्देहीमा १८ जना संक्रमितको मृत्यु भएको थियो । यो दिन सक्रिय संक्रमितको संख्या साढे ७ हजार थियो । त्यसपछि बाँके जिल्लामा पनि संक्रमण दर र मृत्यु दर उच्च थियो । प्रदेशका अरु जिल्ला पनि कोभिडको दोस्रो लहरबाट प्रभावित भएका थिए ।
बैशाख र जेठ महिनामा संक्रमितको लागि अस्पतालमा बेड पाउन पनि निकै गाह्रो भएको थियो । बेड र अक्सिजन नपाएर धेरै संक्रमितले ज्यान समेत गुमाएका थिए । मृत्युदरसँगै संक्रमण दरमा पनि कमि आएको छ । अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।