रुपन्देहीको सीमावर्ती नगरमध्येको एक हो–लुम्बिनी सांस्कृतिक नगरपालिका। बुद्ध जन्मस्थल लुम्बिनी समेत रहेको यो नगरपालिकाको ६ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ। चैत ११ गतेको लकडाउनपछि यहीँको सीमानाका भएर थुप्रै नेपाली घर फर्किए। वैशाख र जेठ महिनामा यहाँ संक्रमण दर पनि तीब्र थियो। पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा धेरै कम आएको छ। प्रस्तुत छ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीसँग कोरोनाको नियन्त्रण, व्यवस्थपन तथा आगामी तयारीका बारेमा लुम्बिनी टाइम्सका लागि सुदीप भण्डारीले गरेको कुराकानी।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणको अवस्था के छ ?
पहिले जस्तो अवस्था छैन। अहिले संक्रमितको संख्या धेरै घटेको छ। हाल ३ जना मात्र आइसोलेसनमा हुनुहुन्छ। उहाँहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। पहिलेका संक्रमितहरु निको भएर घर फर्किइसक्नुभएको छ।
वैशाख–जेठ महिनामा कस्तो अवस्था थियो ?
त्यतिखेर भारतबाट घर फर्कनेको संख्या धेरै थियो। फर्केका जतिलाई हामीले क्वारेन्टिनमा राख्यौं। लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४४ बेड र श्रीलंका गेष्ट हाउसमा ८३ बेडको क्वारेन्टिन बनायौं। त्यहाँ पनि अभाव भएपछि प्रत्येक वडाका विद्यालयहरुलाई व्यवस्थापन गर्यौं।
कोरोना संक्रमण देखिएकाहरुको व्यवस्थापन कसरी गर्नुभयो ?
सुरुमा पोजेटिभ आएकाहरुलाई बुटवल र भैरहवा पठायौं। त्यतिन्जेलसम्म हामीसँग संरचना तयार थिएन। पछि नगरपालिकामै व्यवस्थापन ग¥यौं। क्वारेन्टिन रहेको लुम्बिनी विश्वविद्यालयको भवनमा आइसोलेसन बनायौं। त्यहाँ रहेका संक्रमितहरु निको भएर घर फर्किनुभयो। विस्तारै क्वारेन्टिन र आइसोलेसनहरु खाली भए। अहिले पहिलेजस्तो अवस्था छैन।
लुम्बिनीमा संक्रमण नफैलिएको हो कि परीक्षण नभएर थोरै संख्या देखिएको हो ?
अहिले हामीकहाँ पहिलेजस्तो भारतबाट आउने क्रम रोकिएको छ। नगरपालिकाको वडा नम्बर १२ र १३ मा गरी ६ किलोमिटर सीमा क्षेत्र छ। सीमामा कडाइ गरिएको छ। त्यसैले त्यताबाट जोखिम छैन। विदेशबाट केही आउनुभएको छ। उहाँहरुको हामीले निगरानी गरिरहेका छौं। यस अघि हामीले समुदायमा पनि नमुना परीक्षण गरेका थियौं। वडा नम्बर १ मा २५ र वडा नम्बर ५ मा २५ जना गरेर ५० जनाको परीक्षण गरेका थियौं। सबैको नेगेटिभ आएको थियो। पछिल्लो पटक त्यही ३ जना मात्र पोजेटिभ देखिएका हुन्।
कोरोना नियन्त्रण र व्यवस्थापन कसरी गर्नुभयो, कतिपय स्थानमा संक्रमितलाई बस्तीनजिक राख्न पाइदैन भनेर विरोध भएका थिए, स्थानीयबासिन्दाको कस्तो भूमिका रह्यो ?
शुरुदेखि नै हामीले नगरका वडा र टोल–टोलमा सचेत गराएका थियौं। वडाध्यक्ष, सदस्य, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी खट्नुभएको थियो। गाउँमा कोही आउँदा नै घरकाले नै हामीलाई जानकारी गराउनुहुन्थ्यो। हामीले एम्बुलेन्स पठाएर बाहिरबाट आएकालाई क्वारेन्टिनमा ल्याएर राख्थ्यौं। लुम्बिनी सांस्कृतिक नगरपालिका भारतसँग जोडिएकाले यहाँ ओहोरदोहोर बढी थियो। कतिपयलाई सम्झाउन पनि निकै गाह्रो भयो। बाहिरबाट आएकालाई हामीले क्वारेन्टाइनमा लैजान खोज्दा मेयरसाप छोडदिनुस् मेरो छोराले के गरेको छ ? किन क्वारेन्टिनमा राख्नुहुन्छ भनेर आउनुभयो। तर अहिले कोरोनाप्रति सचेत हुनुहुन्छ।
कोरोना नियन्त्रणको लागि प्रदेश र संघ सरकारसँग कसरी समन्वय गर्नुभयो ?
हामीले प्रदेश र संघसँग समन्वय गरेरै काम गर्यौं। मुख्यमन्त्रीसँग पनि सिधै कुराकानी गरेर समस्याहरु समाधान गरेका थियौं। संघका संयन्त्रहरुसँग पनि छलफल भयो। जिल्ला प्रशासन, स्वास्थ्य कार्यालयलगायत सबैसँग मिलेर हामी अघि बढ्यौं। त्यसकारण नै अहिले हामीकहाँ संक्रमितको संख्या थोरै छ।
अहिले जस्तो अवस्था छ त्यही अवस्था नरहन सक्छ, फेरि महामारी फैलियो भने नगरपालिकाको तयारी के छ ?
हामीहरुले कोभिड नियन्त्रणको लागि एउटा समिति नै बनाएका छौं। त्यसमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु पनि हुनुहुन्छ। वडा नम्बर १ मा बुद्ध आदर्श माध्यमिक विद्यालयमा १७ बेडको आइसोलेशन छ। संक्रमण फैलियो भने थप संरचना बनाउँछौं। नगरपालिकाका स्वास्थ्यकर्मीसँगै प्रत्येक वडामा २ जनाको दरले स्वास्थ्यकर्मी हुनुहुन्छ। उहाँहरु सबै अहिले कोरोनामै केन्द्रित हुनुहुन्छ।
कोरोना महामारीका कारण भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएर आएका वा नेपालमै पनि रोजगारी गुमाएकाहरुको लागि नगरपालिकाले के व्यवस्था गरेको छ ?
उहाँहरुको लागि पनि हामीले केही योजना बनाएका छौं। हामीहरुले तरकारी खेती, कुखुरा पालनको लागि केही न केही अनुदानको व्यवस्था गरेका छौं। उहाँहरुले कति क्षेत्रमा तरकारी खेती गर्नुहुन्छ, त्यही अनुसारको अनुदान उपलब्ध गराउँछौं। मलाई लाग्छ, भारतलगायत बाहिरी मुलुकबाट फर्किनुभएकाहरु अब फेरि जागिरका लागि उतै फर्किनुपर्दैन। नेपालमै, आफ्नै घरमा बसेरै केही गर्न सकिन्छ। त्यसका लागि हामीले सहयोग गर्छौं।