केही समयअघि बाँकेको नरैनापुर गाउँपालिका देशभरको चर्चामा थियो। वैशाख–जेठ महिनामा नरैनापुरमा कोरोना संक्रमण तीब्र थियो। भारतबाट आएर क्वारेन्टिनमा बसेकासँगै समुदायमा पनि फैलिएको थियो। गाउँपालिकालाई सम्हाल्न निकै हम्मे परेको थियो। पछिल्लो समय नरैनापुरको अवस्था भने धेरै सहज भएको छ। प्रस्तुत छ, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहसँग कोरोना संक्रमण व्यवस्थापन र विकास निर्माणका बारेमा लुम्बिनी टाइम्सका लागि सुदीप भण्डारीले गरेको कुराकानी।
अहिले नरैनापुर गाउँपलिकामा कोरोना संक्रमणको अवस्था के छ ?
अहिले धेरै राम्रो भएको छ। संक्रमित पनि धेरै कम भएका छन्। ३ जना महिला र एक जना पुरुष गरेर ४ जना संक्रमित छन्। त्यस बाहेक यहाँको जनजीवन सामान्य छ। भारतबाट आउन पनि रोकेका छौं। पहिले जस्तो अहिले समस्या छैन।
पहिले कस्तो थियो अवस्था ?
हामीले ३ महिनाजति निकै कष्ट बेहो¥यौं। बिहानै ४ बजे उठेर १८ घण्टासम्म खट्यौं। कोरोना संक्रमण फैलिएर अवस्था निकै दयनीय थियो। सरकारबाट पनि सहयोग थिएन। समुदायलाई पनि बुझाउन गाह्रो थियो। गाउँपालिका एक्लै लड्दालड्दा हैरान भएर पछि सेनालाई बोलाउनुपरेको अवस्था थियो।
नरैनापुरमा कसरी फैलिएको थियो कोरोना संक्रमण ?
यहाँका धेरै युवाहरु भारतमा थिए। मुम्बईमा कोरोना संक्रमण फैलिएपछि घर फर्किए। डेढसय जना सीमामा छन् भनेर सूचना आयो। ठीकै छ आउन दिउँ व्यवस्थापन गरौंला भनेको ५ सय भन्दा बढी आए। उनीहरुलाई घर पुग्न नदिन, क्वारेन्टिनमा लैजान कति धेरै मेहनत गर्नुप¥यो। थामिनसक्नु पो भयो। रातारात आएकालाई क्वारेन्टिनमा पु¥यायौं। कति त भाग्न खोज्ने । सम्हाल्न गाह्रो भएर हामी रुन मात्र सकेका थिएनौं।
स्थानीयलाई कोरोना भाइरसबाट हुनसक्ने जोखिमबारे बुझाउन के गर्नुभयो ?
भारतबाट मानिसहरु आउने बित्तिकै जाँच गरेर हामीले क्वारेन्टिनमा पठाउन भन्यौं। गाउँपालिकाको ४–५ वटा सीमानाकामा स्वास्थ्यकर्मी राखेका थियौं। क्वारेन्टिनमा राखेका केहीमा कोरोना पोजेटिभ देखियो। पोजेटिभ देखिएकालाई नेपालगञ्ज पठाउनुपर्ने थियो। नेपालगञ्ज लग्यो भने त किड्नी र फोक्सो निकालिदिन्छ भनेर हल्ला गरे। नपढेका स्थानीयले पत्याए। २ हजार जना आएर हामीलाई घेराउ गरे। सम्झाइबुझाइ बल्लबल्ल नेपालगञ्ज पठायौं। नेपालगञ्जबाट उनीहरुले आफ्नो परिवारलाई फोन गरेर हामी ठीक छौं भनेपछि बल्ल सहज भयो। त्यस्तै सामाजिक दुरी कायम गराउन पनि निकै गाह्रो थियो। अहिले त कोरोना के हो भन्ने बुझिसके। हात नमिलाउने, माक्स लगाउने, हात धुनुपर्छ भन्ने धेरैलाई थाहा भइसकेको छ।
कोरोनाको महामारी अघि र पछि नरैनापुरमा के परिवर्तन भएको छ ?
यो गाउँपालिकामा हालसम्म १ सय १८ जना संक्रमित भए। एक जनाको ज्यान गयो। कोरोनाले एकातिर क्षति गर्यो भने अर्कोतर्फ केही फाइदा पनि गरेको छ। नरैनापुरबाट नेपालगञ्ज जान निकै कष्ट थियो। सजिलोसँग जान भारतको बाटो भएर जानुपर्दथ्यो। अब कालोपत्रे भइसकेको छ।
कोरोना भन्दा अगाडि बिजुली बत्ती पनि आएको थिएन। आइसोलेसनको व्यवस्था गर्न बिजुली नहुँदा निकै गाह्रो भएको थियो। २४ वर्ष सम्म नआएको बिजुली २२ दिनमै आइपुग्यो। मूलसडक हुँदै बोर्डरसम्म बिजुली पुगिसकेको छ।
अब गाउँगाउँमा बत्ती पुर्याउने काम गर्दै छौं। बिजुली बत्तीको अभावमा गाउँपालिकामा नेटवर्कको काम गर्न गाह्रो थियो। त्यसैले केही कर्मचारी नेपालगञ्ज बस्नुपरेको थियो। नेपालगञ्जमा हाम्रो सम्पर्क कार्यालय नै थियो। अहिले त यहीँ गाउँमै व्यवस्था भएको छ। पहिले प्रमुख जिल्ला अधिकारी पनि निकै कम आउने गर्दथे। अहिलेका सिडियो पटकपटक आउनुभएको छ। प्रमुख जिल्ला अधिकारीसँगै विद्युतका प्रमुख महेन्द्र ठाकुरले पनि धेरै सहयोग गर्नुभयो। दुर्गम गाउँपालिका अब त केही समयमै सुगम हुने अवस्थामा छ।
अहिले त अवस्था सहज भएको रहेछ, फेरि कोरोनाको संक्रमण फैलियो भने कसरी नियन्त्रण गर्नुहुन्छ ?
मलाई लाग्छ अब ईश्वरको कृपाले नफैलिएला। तर फेरि कोरोना संक्रमण फैलियो भने हामी तयारी गर्दै छौ। यस अघिको अनुभवले पनि हामी संक्रमण फैलियो भने सम्हाल्न सक्छौ जस्तो लाग्छ। स्थानीय पनि धेरै सचेत भएका छन्।
अन्त्यमा, भारतबाट आएकाहरुलाई आफ्नै गाउँमा रोजगारीको लागि के व्यवस्था गर्दै हुनुहुन्छ?
यही नै सबैभन्दा ठूलो समस्या हो। रोजगारी दिन्छौ भनेर मात्र के गर्ने ? हामीले अपेक्षा गरेजसरी दिन सकिएन भने फेरि काम गरेन भन्ने हुन्छ। तरपनि, प्रयास जारी छ। कृषिमा थोरै मात्र अनुदान दिएका छौं। सिचाइको समस्या छ। हाम्रो जस्तो पिछडिएको ठाउँलाई माथिल्लो सरकारले पनि हेर्नुपर्ने हो। धेरै बजेट व्यवस्था गर्नुपर्ने हो। तर गर्दैन। रोजगारीको व्यवस्था र यहाँको विकासको लागि प्रदेश र संघीय सरकारले पनि हेर्नुपर्छ।